८ माघ,यही माघ ३ गते अन्नपूर्ण आधारशिविरको पदमार्गमा हराइरहेका ७ जना पर्यटकहरुको खोजी कार्य जारी रहेको छ । नेपाली सेनाको टोलीले हिमपहिरोमा परी ४ जना कोरियन पर्यटकहरु तथा ३ जना नेपाली गाईडहरुको खोजी गरिरहेको हो । नेपाली सेनाको पोखरास्थित श्री सेकेण्ड रेञ्जर गणका गणपति सहितको उद्धार टोलीद्वारा माघ ७ गतेदेखि खोजी कार्य जारी राखेको हो ।

उक्त उद्धार टोलीलाई नेपाली सेनाको ईक्वेरल हेलिकोप्टरद्वारा घटनास्थलबाट करिब २० मिनेटको पैदल दुरीमा अवस्थित देउराली भन्ने स्थानसम्म पुर्याएको थियो । खोज तथा उद्दार कार्यको लागि खट्टिएको नेपाली सेनाको उद्धार टोलीद्वारा कोरियन पर्यटकहरु हिम पहिरोमा परी पुरिएको भनिएको स्थानमा करिव छ मिटर गहिराईसम्म खन्दा पनि हालसम्म केही फेला नपरेको जनाएको छ ।

टोलीले नेपाली गाईडहरु पुरिएको भनि मार्क गरिएको सम्भावित स्थानमा समेत खोजी कार्य जारी राखेको छ । साथै हराईरहेका नेपाली गाईडका दुई जना आफन्तहरु समेतले उद्धार कार्यमा सहयोग गरिरहेका छन् । नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिईरहेको र थप जानकारी गराउने जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।