SONY DSC

माघ ८ – दक्षिण कोरियाको अर्थतन्त्र गत वर्ष यस दशकको सबभन्दा सुस्त गतिमा विस्तार भएको छ । अमेरिका र चीनबीच लामो समयसम्मको तनाव र सेमिकन्डक्टरको बजारमा आएको मन्दीले अर्थतन्त्रमा असर पारेको केन्द्रीय बैंकले बुधवार बताएको छ ।

विश्वकै १२ औं ठूलो अर्थतन्त्र रहेको कोरियामा सन् २०१९ मा २ दशमलव शून्य प्रतिशतले आर्थिक वृद्धि भएको छ, जुन अघिल्लो वर्ष २ दशमलव ७ प्रतिशतभन्दा कम हो । सन् २००९ को विश्वव्यापी आर्थिक संकटपछि यो सबैभन्दा खराब अवस्था हो ।

खस्कदो आर्थिक वृद्धि नै अहिले दक्षिण कोरियाका लागि प्रमुख चुनौती हो । कोरियाले दशकौंसम्म आर्थिक विकासमा चमत्कार नै गरेको थियो तर पछिल्लो समय उच्च शिक्षित युवाले राम्रो तलब प्राप्त गर्न सङ्घर्ष गर्नु परेको छ भने असमानताका कारण निराशा चुलिँदै गएको छ ।

राष्ट्रपति मून जाए–इनले सार्वजनिक खर्च बढाउने र ‘आय–उन्मुख वृद्धि’ को विवादास्पद आर्थिक नीति अघि बढाएको भन्दै कोरियामा आलोचना हुन थालेको छ । यस नीतिका कारण तीन वर्षको अवधिमा न्यूनतम ज्यालामा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको छ । विपक्षीहरूले सरकारी नीतिहरुले रोजगार लागत बढ्ने र अर्थतन्त्रमा सुस्तता आउने भन्दै आलोचना गरिरहेका छन् ।

कोरियाको केन्द्रीय बैंक अफ कोरियाले जारी गरेको विज्ञप्तिमा सेमिकन्डक्टरको मूल्यमा आएको कमीजस्ता कारणले व्यापार–निर्भर अर्थतन्त्र सुस्त भएको जनाइएको छ ।

‘सरकारी खपतको बृद्धि भएपनि निर्माण क्षेत्रमा लगानी खुम्चिएको छ र निर्यातको वृद्धि सङ्कुचित भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

चीन–अमेरिका व्यापारमा देखिएको तनाबले सिर्जना गरेको दबाबकै अवस्थामा विदेशतर्फको सिपिङमा १ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ जबकी अघिल्लो वर्ष यो ३ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । सन् २०१५ यता यो सबैभन्दा झिनो वृद्धि हो । आयातमा शून्य दशमलव ६ प्रतिशतले गिरावट आएको छ ।

आगामी अप्रिलमा हुने संसदीय चुनावअगाडि पहिलो त्रैमासिकमा मून–प्रशासनले सार्वजनिक खर्चमा ९ दशमलव १ प्रतिशत वृद्धि गर्ने तथा पूर्वाधार बजेटको करीब ३० प्रतिशत खर्च गर्ने योजना अघि सारेको छ । राससर एएफपी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।