Image result for झुरझुरे khabarbreak

रिपेश दाहाल

हेटौडा, ८ माघ:

थुप्रै संयोगहरुका बिचमा जन्मिएर भाग्यले बाँचेका एक किशोर हुन् “युद्धवीर” । मुस्किलले पाँच छ वटा घरहरु भएको साविक फापरवारी गाविस तथा हालको बागमती गाउपालिकाको केन्द्र रहेको झुरझुरेको मुख्य मार्गबाट २० मिनेटको ठाडो उकालो हिडेपछि पुगिने सानो गाउँ थलीमा २०६२ माघ ८ गते साँझ ५ बजे जन्मिएका युद्धवीर थुप्रै संयोगहरुका बिचमा जन्मिएर भाग्यले बाँचेका एक किशोर हुन् । युद्धवीर त्यही दिन जन्मिए जुनदिन उनका हजुरबुबा र काका मारिए । बाबुलाई गोली लाग्यो । युद्धवीर त्यही दिन जन्मिए जुनदिन उनको घरमा गोलाबारी भयो र आगो लाग्यो । उनी त्यही दिन जन्मेका थिए जुनदिन झुरझुरेमा तत्कालिन बिद्रोही माओवादी र सरकारी सेनाबीच ५० जना भन्दा बढी मारिनेगरी युद्ध भएको थियो । ७ गते देखिनै थोरै ब्यथा सुरु भएपनि ज्योममाया बजुले ८ गते साँझ मात्रै छोरालाई जन्मदिनु भयो । ससुरा प्रतापसिंहले नाती जन्मेको थाहा पाउनासाथ बच्चालाई नुहाउन पानी तताउन थाले । सासु मंगलीमायाँ सुत्केरी बुहारीको स्याहार सुसारमा जुटिन् ।

सुत्केरी र बच्चाको सरसफाई सकेर बच्चालाई दुध खुवाउने तयारी हुँदैथियो । उता ससुरा बच्चा नुहाउन पानी तताएकै भाँडोमा पानी थपेर सुत्केरीलाई मासु खुवाउन खोरबाट भाले झिकेर काट्दै थिए । अचानक हल्ली खल्ली सुनियो , बिस्तारै गोली चलेको, बम पड्केको आवाज आउन थाल्यो चिच्याहट र कोलाहाल बीच सबै जना घरभित्र भेला भए । गोलाबारी रोकियोस् अनि फेरी शान्ति आओस् भन्ने कामना गर्दै परिवार एकै ठाउँमा भेला भएर बसे । तर भयो विपरित । गोलाबारीले घरमा आगो सल्कियो । एकतले घर , खरको छानो ढोका खोलेर भाग्न नै नपाइ आगो ढोका तिर खस्यो । अब परिवारनै डढेर मर्नुको विकल्प देखिएन । तर सुत्करीले सहास देखाईन् । काखको बच्चा सासुको हातमा सुम्पिएर सिलौटो उठाएर भित्तामा हान्न थालिन् । भित्ताको फलेक खुस्कियो, बच्चा सहित सासुआमालाई निकालिन्, ससुरा र भतिजा समेत सुत्केरीको साहसले बाहिर निस्किए अन्तमा २ सन्तान सहित ज्योममाया पनि बाहिर निस्किन् । तर बाहिर पनि दोहारो भिडन्त भइरहेको थियो । उनीहरु शौचालय बनाउन खनिएको खाल्डो भित्र लुके । सानो बच्चा कपडामा बेरेर हजुरआमाले बोकेकी थिइन् अनि छोरी र ठुलो छोरोसंगै ज्योममाया । सबै भन्दा माथि थिए प्रतापसिंह अर्थात सुत्केरीका ससुरा ।

माथि भएकै कारण प्रतापसिंह अर्थात युद्धवीरका हजुरबुबाले ठूलो मूल्य चुकाउनुप¥यो, उनको टाउकोमा गोली लाग्यो ,उनको प्राण त्यहीँ गयो, बचेकाहरु त्यहाँ बस्न सकेनन् । युद्धवीरकी हजुरआमा अर्थात् मंगलीमायाँ आँखै अगाडि पतिको टाउकोमा गोली लागेर मारिएको देख्दा अर्धचेत जस्तै भएकी थिइन् । यद्यपी भर्खरै जन्मिएका युद्धवीर उनकै काखमा थियो कपडामा लपेटिएको अवस्थामा । पतिलाई आँखा अगाडि गुमाउनु पर्दा विक्षिप्त बनेकी मंगलीमाया बच्चा बोकेर गोलाबारीको प्रवाह नगरी अघि अघि लागिन् साथमा दुई छोराछोरी बोकेर केहिबेर मात्र अघि सुत्केरी बनेकी ज्योममाया पछि लागिन् । मानबहादुर अर्थात सुत्केरीको भतिज पनि गोलीहरुलाई छल्दै दौडिरहेका थिए । सयौं गोली छलेका उनले एउटा गोली छल्न सकेनन् । उनको छातीमा एउटा गोली लाग्यो । मानबहादुर त्यहीँ ढले । पति मारिएको देखेकी मंगलीमायाकै अगाडि ठूलो नाती पनि ढल्यो । एक्कै छिनमा मंगलीमायाको छोरो सुत्केरीकीे पति सुकबहादुर बजुलाई पनि गोली लाग्यो तर उनी ढलेनन् । परिस्थिति दर्दनाक र भयानक थियो । यद्यपी बाँचेकाहरुले सकेसम्म आफुलाई बचाउनु थियो । मरेकाहरुलाई अङ्गालेर रुने परिस्थिति थिएन । बँचेकाहरु सबै भाग्दै भाग्दै नजिकको अर्को टोलमा पुगे त्यो टोल पनि धेरै टाडा थिएन केही थान गोलीहरु त्यहाँ पनि पड्किनै रहेका थिए ।

रोदन , चिच्याहट त्यहाँ पनि थियो , युद्ध क्षेत्र त्यो पनि थियो तर उनीहरुको आफ्नो त टोलनै जलेको थियोे । २ घण्टा भित्र यी सब घटना भएका थिए । चलचित्रको कथा झै लाग्ने यो घटनामा त्यो परिवारका दुई जना सदस्य मारिएका थिए । कोलाहल र चिच्याहट बढि नै रहेको थियो । २ घण्टा अगाडि जन्मीएको बच्चालाई एक थोपा दुध समेत खुवाउन पाउनु भएको थिएन ज्योममायाले त्यसैले उहाँले सासु आमासंग बच्चा माग्नु भयो । तर सासुको हातमा बच्चा थिएन । बच्चा गुट्मुट्याएको कपडा मात्रै थियो । भागदौडमा बच्चा झरेछ । श्रीमान् , नाति आँखै अगाडि मारिएको देख्दा मानसिक रुपमा सारै नै विक्षिप्त बनेकी मंगलीमायालाई बच्चा कहाँ झ¥यो,कतिखेर झ¥यो थाहानै भएन । ज्योममाया निक्कै नै आत्तिनु भयो । बच्चा खोज्न दौडदा उहाँलाई धेरैले रोक्न खोेजे तर सकिएन , आमाको ममता छेक्ने क्षमता आखिर कुन पर्खालसंग छ र ? ज्योममाया त्यहिँ पुग्नुभयो जहाँबाट उहाँहरु जानुभएको थियो । खाल्डोमा बच्चा थिएन ।

कतै रोएकै भएपनि सुन्न सकिने अबस्था थिएन चारतिर गोली र बमका आवाज मात्र सुनिन्थ्यो । कयौं गोलीहरुले उहाँलाई झण्डै झण्डै छोएर गए तर उहाँले बच्चा खोज्न छाड्नु भएन । बच्चा बिहान मात्रै भेटियो । जन्मिएर १३ घण्टा हराएको त्यहि बच्चा हो युद्धवीर जो आज १४ बर्ष पुरा हँुदैछ । नातामा युद्धवीरका हजुरबुबा पर्ने रामबहादुर बजुले सुनाउनु भएको स्मरण हो यो । यो अपत्यारिलो घटना स्थलमा शहीद पार्क निर्माणाधिन अवस्थामा छ ।

तत्कालिन् नेकपा माओवादी र नेपाली सेना बीच भएको युद्धमा २८ बिद्रोही र ८ सेनाका जावानहरुले ज्यान गुमाएका थिए भने युद्धमा ६ बर्षीय बालक सहित ३ जना सर्वसाधारणको ज्यान गएको थियो । जनयुद्धको यो नै अन्तिम ठूलो भिडन्त थियो । त्यसपछि अन्य राजनीतिक दलहरुसंग मिलेर शान्तिपूर्ण आन्दोलनमा समाहित भएको माआवादी आज नेकपा एमालेसंगको एकीकरण पछि नेकपा बनेको छ र हाल नेकपाको नेतृत्वमा झण्डै दुई तिहाई समर्थन प्राप्त सरकार बनेको छ । अर्थात युद्धवीर जन्मिएको दिन बाहेकको यो १४ बर्षमा देशले दीर्घकालीन शान्तिको बाटो समातिसकेको छ । उ जन्मेदेखि युद्ध हैन शान्ति प्रक्रिया सुरु भएको छ । त्यसैले त्यस बालकको नाम शान्तिवीर पो सुहाउँछ भिडमा कसैकसैले भनेको सुनिन्थ्यो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।