एजेन्सी,पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासकै सर्वाधिक गोलकर्तामा पाँचौं स्थानमा उक्लिएका छन् । आइतबार राति भएको खेलमा २ गोल गरेका उनले एक स्थान माथि उक्लिएका हुन् । उनले इटालियन सिरी ‘ए’अन्तर्गत पर्माविरुद्धको खेलमा २ गोल गरेपछि जर्मनका लिजेन्ड खेलाडी जेर्ड मुलरलाई पछि पारे । पोर्चुगलका साथै पोर्चुगिज क्लब स्पोर्टिङ सीपी, इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड, स्पेनिस क्लब रियल मड्रिड र युभेन्टसबाट गरी एक हजार २८ खेल खेलेका रोनाल्डोले ७ सय ३६ गोल गरेका छन् । उनले जेर्ड मुलरलाई एक गोलले पछि पार्दै पाँचौं स्थानमा उक्लिएका हुन् । मुलरले ७ सय ३९ खेलबाट ७ सय ३५ गोल गरेका छन् ।

यता, उनका खास प्रतिस्पर्धी तथा बार्सिलोनाका स्टार लियोनल मेस्सी भने सर्वाधिक गोलकर्ताको सातौं स्थानमा छन् । अर्जेन्टिनका कप्तान मेस्सीले भने ९ सय १ खेलबाट ७ सय १७ गोल गरेका छन् । ३२ वर्षीय मेस्सी रोनाल्डोभन्दा १८ गोलले पछि परेका छन् । यद्यपि, ३४ वर्षीय रोनाल्डोको खेल संख्या भने मेस्सीको भन्दा धेरै छ ।

सर्वाधिक गोलकर्ता भने चेक रिपब्लिकका जोसेप बिक्यान हुन् । ५ सय ३० खेलबाट ८ सय ५ गोल गरेका उनको २००१ मा निधन भएको थियो । दोस्रो स्थानमा ब्राजिलियन लिजेन्ड रोमारियो छन् । उनले ९ सय ९४ खेलबाट ७ सय ७२ गोल गरेका छन् । तेस्रो स्थानमा ब्राजिलकै पेले रहेका छन् भने चौथो स्थानमा हंगेरीका फेरेंक पुस्कास छन् । पेलेले ७ सय ६७ गोल गर्दा पुस्कासले ७ सय ४६ गोल गरेका छन् ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।