माघ ७ – नेपाल क्रिकेट संघ (क्यान) अध्यक्ष–११ ले दोस्रो एक दिवसीय अभ्यास खेलमा मलेसिया–११ लाई १ सय ७२ रनको फराकिलो अन्तरले जित हात पारेको छ।

क्यान–११ ले प्रस्तुत गरेको २ सय ९१ रनको लक्ष्य पछ्याएको मलेसिया २८ दशमलव ४ ओभरमा अल आउट हुँदै १ सय १८ रनमा समेटियो। मलेसियाको ओपनर भूषण सेभले २४, विरनदीप सिंहले २३, सैद अजिजले २८ र अहमद फैजले १९ रन जोड्न बाहेक अन्यले दोहोरो अंक जोडन सकेनन्।

नेपालका स्पिनर ललित नारायण राजवंशीले ८ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। तीव्र गतिका बलर किशोर महतोले ७।४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। सुशन भारीले २ तथा कमल सिंह ऐरी र पवन सरार्फको नाममा १–१ विकेट रह्यो।

त्यसअघि पोखरा रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रनको योगफल तयार पारेको थियो। नेपालका लागि रोहितकुमार पौडेलले ५४ बलमा ४ चौका र २ छक्कासहित ५७ रन जोडे भने सुनिल धमला २४ रनमा क्याच आउट भए। ओपनर सुवास खकुरेलले ७७ बलमा ४ चौकासहित ४८ रनमा बोल्ड आउट भए। कप्तान ज्ञानेन्द्र मल्ल ४७ बलमा ५ चौका र २ छक्का सहित ५४ रनमा रिटायर्ड आउट भए।

लोकेश बमले ३४, विनोद भण्डारीले २१, पवन सरार्फले १२ र सुसन भारीले १६ रन जोडे।

मलेसिया ११ का अनवार रहमान र नाजरिल रहमानले समान २ विकेट लिए। मोहम्मद आरिफ र शब्रिनको नाममा १–१ विकेट रह्यो। यसअघि सोमबार भएको पहिलो अभ्यास खेलमा क्यान–११ ले मलेसिया–११ लाई १ सय ३५ रनको फराकिलो अन्तरले हराएको थियो। नेपाली टोलीले मलेसिया–११ सँग थप एक अभ्यास खेल खेल्नेछ।

मलेसिया–११ लाई क्यानले ओमान र अमेरिकासँग माघ २२ देखि २९ गते सम्म कीर्तिपुर क्रिकेट मैदानमा हुने एक दिवसीय त्रिकोणात्मक सिरिजको बन्द प्रशिक्षणमा रहेका २४ नेपाली खेलाडीसँग तीन एक दिवसीय अभ्यास खेलको ब्यवस्था मिलाएको हो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।