माघ ६ । पछिल्लो समय मूल्यवृद्धि उकालो लाग्दै गएको छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले मूल्यवृद्धि उकालो लाग्दै गएको देखाएको हो ।

चालू आर्थिक वर्षको मंसिरमा मूल्यवृद्धि अघिल्लो वर्षको तुलनामा झन्डै दोब्बर रहेको तथ्यांकले देखाएको छ ।

यस अवधिमा खाद्य तथा पेयपदार्थको मूल्यवृद्धि उच्च रहेको छ ।

राष्ट्र बैंककाअनुसार २०७६ मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको यसै महिनामा यस्तो मुद्रास्फीति ३.७१ प्रतिशत रहेको थियो ।

अघिल्लो महिना कात्तिकसम्म पनि मूल्यवृद्धि ५.७६ प्रतिशत रहेको थियो ।

मंसिरमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति ९.७६ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१० प्रतिशत रहेको छ ।

खाद्य तथा पेयपदार्थअन्तर्गत् तरकारी, मसला, फलफूल र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि उच्च रहेको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत् शिक्षा, लुगा तथा जुत्ता र फर्निसिङ तथा घरायसी उपकरणहरु उपसमूहको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, यस अवधिमा काठमाडौं उपत्यकामा सबैभन्दा उच्च ७.६० प्रतिशत, तराईमा ६.६६ प्रतिशत, पहाडमा ५.२७ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ ।

२०७५ मंसिरमा काठमाडौं उपत्यकामा ३.६८ प्रतिशत, तराईमा ३.६५ प्रतिशत, पहाडमा ३.८४ प्रतिशत र हिमालमा ४.०५ प्रतिशत मुद्रास्फीति रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।