माघ । गायन प्रतियोगिता ‘नेपाल आइडल सिजन ३’ मा मकवानपुरकी स्वस्तिका ढकालले निकै चर्चा बटुलिरहेकी छिन् । मकवानपुरको हेटौंडा –८ कमाने निवासी ढकालले दर्शक र निर्णायकको मन जित्दै उत्कृष्ट १२ सम्म आफ्नो स्थान सुरक्षित गरीसकेकी छिन् ।

‘मेघा राउण्ड’ अर्थात अडिशन राउण्डमा ‘सालैजु’, ‘म आँखैमा राख्न’ जस्ता गित गाएर निर्णायकको मन जितेकी ढकालले पछिल्ला राउण्डहरुमा झनै राम्रो प्रस्तुती दिँदै आएकी छिन् । क्रमश ‘थिएटर राउण्ड’ र ‘पियानो राउण्ड’ मा पनि उनले राम्रो प्रस्तुती दिएकै कारण उनको गायनको चर्चा चुलिएको हो ।

उनले आगामी राउण्डका लागि पनि तयारी गरिरहेको बताईन् । आगामी राउण्ड ‘गाला राउण्ड’ रहने र सोही राउण्डमा प्रतुती दिएपछी भोटिङ सुरु हुने भएकोले निकै मिहेनतका साथ आफुले तयारी गरिरहेको उनी बताउँछिन् ।

सामान्य, परिवारमा हुर्किएकी उनी अहिले २२ बर्षकी छिन् । उनी भन्छिन् ‘ हामी परिवारमा ५ जना छौँ, बुवाले निकै दुख गरेर हामीलाई हुर्काउनुभयो, संगीतमा सानैदेखि रुचि थियो । संगीतको औपचारिक शिक्षा हासिल गर्न मन भएर पनि पारिवारिक आर्थिक अवस्थाको कारण सकिएन। परिवारलाई आर्थिक रुपमा सहयोग हुने भएकोले हेटौँडाकै एउटा शैक्षिक परामर्श केन्द्रमा काम पनि गरिरहेको छु ।’

‘कक्षा ४ मा पढ्दा मिसले गीत सिकाउनुहुन्थ्यो, त्यसैबेला आफुभित्र संगीत भएको महसुस गरेको थिएँ। बिस्तारै स्कुलका शिक्षक, शिक्षिका, साथिहरु र परिवारको साथ, हौसला र प्रेरणाले गर्दा यही क्षेत्रमानै भविस्य बनाउने रहर जाग्यो । आशा छ यो राउण्ड पनि पार हुनेछु ।’ उनले भनिन् ।

घर परिवारबाट साथ सहयोग रहेकोले उनी खुशी छिन् । उनी भन्छिन् – संगीतमै आफ्नो उज्ज्वल भविस्य खोज्ने प्रयास गर्ने क्रममा नेपाल आइडलको टप १२ सम्म को यात्रा पूरा गरिसकेको छु र यो यात्रा जहाँ पुगेर रोकिए पनि म भित्रको संगीतको प्यास कहिल्यै मेटिने छैन।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।