माघ ३ – सभामुखको विषयमा निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच अहिले छलफल चलिरहेको छ।

आज (शुक्रबार) बिहान नौ बजेदेखि नै ओली र प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल चलिरहेको नेकपाका एक नेताले जानकार दिए।

सम्भवतः आजै ओली र प्रचण्डले सभामुखको नाम टुंग्याउने स्रोतले जनाएको छ। स्रोतका अनुसार सभामुख पूर्वमाओवादी समूहलाई दिन ओली तयार भएपछि अन्तिम निर्णय गर्न यो बैठक बसेको हो।

सभामुखको विषयमा बढेको असमझदारीको कारण ओली र प्रचण्डबीच भेटघाट हुनै छाडेको थियो । पाँच दिनपछि बिहीबार ओली र प्रचण्डले करिब साढे दुई घण्टा छलफल गरेका थिए।

बिहीबारको छलफलपछि सभामुख पद पूर्वमाओवादी समूहलाई दिन ओली तयार भएका हुन्। माओवादी पक्षबाट प्रचण्डले अग्नी सापकोटालाई सभामुखमा अघि सार्न खोजेका छन्।

सापकोटाको नाममा सहमती नजुटे पम्फा भुसाल अथवा हरिबोल गजुरेल सभामुख बन्न सक्ने स्रोतको दाबी छ।

दुई अध्यक्षको छलफलबाट सभामुख टुंगो लागे त्यसलाई औपचारिकता दिन सचिवालयको बैठक बस्ने नेकपाका एक नेताले बताए। सचिवालय बैठक पनि आजै बस्ने सम्भावना छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।