साङ्केतिक तस्वीर

माघ २ – सुत्केरीलाई शुक्लाफाँटा नगरपालिका ३ ले पोषयुक्त खानेकुरा खान भत्ता उपलब्ध गराउने भएको छ । निरन्तर रूपमा दुई वर्षदेखि सुत्केरी भएकालाई पोषणयुक्त खानेकुरा खान भत्ता उपलब्ध गराइँदै आएको वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए ।

“दूध, दही, घिउ, फलफूल, माछा, मासु, हरियो सागपात, गेडागुडीलगायत खान भत्ता दिँदै आएका छौँ,” उनले भने, “आर्थिक अवस्था कमजोर भएका महिलालाई पोषणयुक्त खानेकुराकै अभावमा विभिन्न किसिमका रोगको सङ्क्रमण हुने भएकाले त्यसको रोकथामका लागि पोषण कार्यक्रम सञ्चालन गरी भत्ताको रकम दिन थालेका छौं ।” कार्यक्रमअन्तर्गत सुत्केरी हुनेलाई वर्ष एकपटकका लागि १२ सय रुपैयाँ भत्ताबापत दिइने गरिएको छ । सुत्केरी र शिशुका लागि दुई जोर कपडासमेत दिइने गरिएको छ ।

“कार्यक्रम सञ्चालन हुनुअघि सुत्केरी हुने अधिकांशलाई पोषणयुक्त खाना खानुपर्छ भन्ने जानकारी नै थिएन,” वडाध्यक्ष चौधरीले भने, “कार्यक्रम सञ्चालन गरिएपछि सुत्केरी हुनेलाई वडा कार्यालयमै बोलाएर स्वास्थ्यकर्मीमार्फत पोषणयुक्त खानेकुरा खानुपर्छ भन्नेबारे जानकारी गरायौँ, त्यसका फाइदाका बारेमा जानकारी दियौँ, त्यसपछि भत्ताको रकम दिन थालेका छौँ ।”

पोषणयुक्त खानेकुरा व्यवस्थाका लागि भत्ता दिइन थालेपछि मातृ शिशु मृत्यृदर शून्यमा झरेको वडा कार्यालयका सचिव श्यामप्रसाद चौधरीले बताए । वडामा सुत्केरी हुने र गर्भवतीलाई पोषणयुक्त खानेकुराको अभाव हुँदा नवजात शिशुमा कुपोषणको समस्या देखिने गरेको थियो । सुत्केरी भत्ताको रकम बुझ्न आएकी सीमा चौधरीले गर्भवती भएपछि वडा कार्यालयले दिने गरेको स्वास्थ्यसम्बन्धीको ज्ञानले परिवारले खानेकुरामा ख्याल राख्दै आएको बताइन् ।

वडा कार्यालयले शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएपछि स्वास्थ्यचौकीको शिशु जन्मेको प्रमाणपत्र र स्वयंसेविकाको सिफारिसका आधारमा भत्ताको रकम दिने गरेको छ । उमेर नपुगिकनै विवाह गरी सुत्केरी हुने महिलालाई भने वडा कार्यालयले उक्त कार्यक्रमअन्तर्गतको सुविधा दिने गरेको छैन । वडा कार्यालयले गत आवमा २८ सुत्केरीलाई भत्ताको रकम उपलब्ध गराएको थियो भने चालु आवको हालसम्म ७ जनालाई भत्ताको रकम उपलब्ध गराएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।