साङ्केतिक तस्विर

हेटौंडा,२ माघ,मकवानपुरको बकैया गाउँपालिका वडा नंबर ७ र ५ मा माघ १ गते (बुधबार) २ वटा बालविवाह रोकिएको छ । बालहेल्पलाइनको पहलमा वडा कार्यालय र हात्तीसुडे प्रहरी चौकीको सहयोगमा वालविवाह रोकिएको हो ।

बकैयाको वडा नंबर ७ मा १७ वषिय बालक र १६ वर्षिय बालिकाको विवाह रोकिएको हो । २० वर्ष उमेर नपुगि बिहे नगर्ने र पढाइलाइ पुन निरन्तरता दिने सहयोगको लागि आवश्यक परेमा वडा कार्यालय तयार रहेको वडा नंबर ७ का वडाअध्यक्ष रामकाजी लामीछानेले बताए ।

बुधबार नै बकैयाको वडा नंबर ५ मा आफ्नै परिवारबाट बालिकाको विवाह गरिदिन माघ २ गतेको दिन तय भएकोमा बालिका स्वयले बालहेल्पलाइनको १०९८ नंबरमा कल गरि विवाह रोक्न भनि जानकारी गराएकी थिइन् । सोहि अनुसार प्रहरी र वडा कार्यालयको समन्वयमा वडा कार्यालयबाट वडाअध्यक्ष शेरमान घलान, बालमैत्री सहजकर्ता कल्पना गोले, हात्तीसुडे प्रहरी चौकीका इन्चार्ज असइ कृष्ण गौतम र बालहेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीको टोली बालिकाको घरमा गइ स्थानीय सरोकारवाला सहित बालविवाह रोकेको हो ।

बाललविवाहका कारण पर्ने असर तथा कानुनी ब्यवस्था बारेमा सबै जानकारी गराइएको थियो । बालिकाका बुबाले २० वर्ष नपुगि छोरीको विवाह नगरिदिने र छोरीलाइ पढाइमा निरन्तरता दिने बताए । उनले आर्थिक अवस्था कमजोर भएका कारण शैक्षिक सहयोगको लागि अनुरोध समेत गरेका थिए ।

कानुन उलङ्घन गर्नेलाई पनि दण्डगरिने र कानुनले कसैलाइ पनि छुटदिन नसक्ने असइ कृष्ण गौतमले जानकारी गराए। दुबै वडाका बालिकाहरुले कक्षा ८ मा पढाइ छाडेको पुन यसै वर्ष जाँच दिन तथा आवश्यक सहयोगको लागि विद्यालयसँग समन्वय भइरहेको बालहेल्पलाइनले जनाएको छ । हाल दुबै बालिकाहरुलार्इ आवश्यक परामर्शको लागि बालहेल्पलाइन हेटौंडाको संरक्षणमा राखिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।