Container Crash Web

माघ २ – विश्वका दुई शक्तिशाली अर्थतन्त्र अमेरिका र चीनबीच डेढ वर्षअघि सुरू भएको व्यापार युद्ध केहि मन्थर भएको छ । अमेरिका र चीनबीच पहिलो चरणको सम्झौतामा हस्ताक्षर भएसँगै व्यापार युद्ध केहि मत्थर हुने भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

सम्झौता गर्न चीनका प्रमुख व्यापार वार्ताकार तथा उपप्रधानमन्त्री लिउ हे वासिङटन पुगेका थिए । अमेरिकाका तर्फबाट सम्झौतामा राष्ट्रपति डोनाल्ड ट्रम्पले नै हस्ताक्षर गरेका छन् । यी दुई देशबीच सन् २०१८ जुलाईदेखि एकअर्काका सामानमा कर बढाएपछि व्यापार युद्ध सुरू भएको थियो ।

विभिन्न चरणमा भएका वार्ताहरू अवरूद्ध भएर फेरि सुरू हुँदै डेढ वर्षमा पहिलो चरणको सम्झौता भएको हो । सम्झौताअनुसार बेइजिङले आगामी दुई वर्षमा सन् २०१७मा अमेरिकाबाट किनेको भन्दा २ सय अर्ब डलर भन्दा बढीको सामान र सेवा किन्ने भएको छ । अमेरिकाले केही चिनियाँ सामानमा लगाएको कर घटाउने र गत डिसेम्बरबाट थप सामानमा लगाउने भनेको कर नलगाउने भएको छ ।

चीनले अमेरिकाबाट ५४ अर्बको उर्जा, ७८ अर्बको उत्पादन, ३२ अर्बको कृषि सामग्री र ३८ अर्ब डलरको थप सेवा किन्ने प्रतिवद्धता जनाएको छ । एक घन्टाभन्दा बढी चलेको हस्ताक्षर समारोहमा चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको पत्र पढेर सुनाइएको थियो ।

हस्ताक्षर कार्यक्रममा राष्ट्रपति ट्रम्पले सम्झौता चीनसँगको व्यापार सम्बन्धमा यसअघि कहिल्यै नभएको कदम भएको बताए । अमेरिका र चीनबीच सम्झौता भएसँगै विश्वका विभिन्न सेयरबजार उकालो लागेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।