पुष २६ – पाकिस्तानको एक मस्जिदमा विस्फोट हुँदा एक प्रहरी अधिकृतसहित १४ जनाको मृत्यु भएको छ ।

क्वेत्तास्थित मस्जिदमा शुक्रबार साँझ विस्फोट भएको थियो । जहाँ १९ जना घाइते भएका छन् । मस्जिदमा प्रार्थनाको अवधिमा विस्फोट भएको हो । क्वेत्ता प्रहरी प्रमुख अब्दुल्लाह अफ्रिदीका अनुसार उक्त आत्मघाती हमला थियो ।

घटनापछि सशस्त्र लडाकू समूह डाएसले विज्ञप्ति निकाल्दै घटनाको जिम्मेवारी लिएको छ । उक्त हमला अफगान तालिबानलाई लक्षित गरिएको डाएसले जनाएको छ । जब कि, तालिबान प्रवक्ता क्वरी मुहम्मद युसफले हमलाको अवधिमा कोही पनि तालिबान नेता मस्जिदमा नभएको प्रतिक्रिया दिएका छन् ।

घटनाका घाइतेहरुलाई क्वेत्ता सिभिल अस्पतालमा उपचारका लागि लगिएको छ । क्वेत्ता बलोचिस्तान प्रान्तको राजधानी तथा सबैभन्दा ठूलो सहर हो । घटनास्थलमा उद्धारका लागि सेना परिचालन भएको छ ।

प्रधानमन्त्री इमरान खानले घटनाको कडा शब्दमा विरोध जनाउनुका साथै दुख व्यक्त गरेका छन् । यस्तै घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली ज्ञापन गरेका छन् । र घाइतेको सक्दो छिटो र राम्रो उपचार गर्न आदेश दिएका छन् । विदेशमन्त्री शाह मोहमुद कुरैसीले पनि घटनालाई ‘पाकिस्तानको अस्थिरताका लागि निच षड्यन्त्र’ भन्दै विरोध जनाएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।