पुष २६ – ओमानको नयाँ सुल्तानमा पूर्वसंस्कृति मन्त्री हैयथम बिन तारिक अल सइद नियुक्त भएका छन् । ओमानी सञ्चारमाध्यमका अनुसार उनले ओमानको सुल्तानका रुपमा शपथ पनि लिइसकेका छन् ।

शुक्रबार साँझ ओमानका सुल्तान काबुस बिन सइद अल सइदको ७९ वर्षको उमेरमा निधन भएपछि शनिबार हैयथमलाई नयाँ सुल्तान नियुक्त गरिएको हो । काबुसको इच्छाबमोजिम हैयथमलाई ओमानको सुल्तानमा नियुक्त गरिएको हो ।

स्वर्गीय सुल्तान काबुस अविवाहित थिए । त्यसैले ओमानी सिधै ओमानी सत्ता सम्हाल्ने उत्तराधिकारी कोही थिएन । उनका तीन भाइलाई नै नयाँ ओमानी सुल्तानको उत्तराधिकारीको दाबेदार मानिएको थियो । बन्द खाममा रहेको सुल्तान काबुसको इच्छापत्र(विल) बमोजिम हैयथमलाई ओमानको सुल्तान नियुक्त गरिएको गल्फन्युजले जनाएको छ ।

शनिबार सुल्तान काबुस बिन सइदको अन्तिम संस्कारअघि हैयथमले अल बुस्तन दरबारमा राज्यारोहण गर्नेछन् । शनिबार बिहान बसेको ओमानको शाही परिवार परिषदको बैठकले हैयथमलाई नयाँ सुल्तानमा नियुक्त गरेको हो ।

हैयथमले बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका छन् । उनी ओमान फुटबल संघका पहिलो प्रमुखसमेत हुन् । उनी ओमानी नागरिकका बीच खेलप्रेमी व्यक्तिका रुपमा परिचित रहेका छन् ।

सुल्तान काबुसको निधनमा ओमानमा तीन दिन राष्ट्रिय शोक मनाइने भएको छ । त्यस्तै ओमानभर तीन दिन बिदाको घोषणा गरिएको छ ।

सन् १९७० मा बेलायतको समर्थनमा आफ्नै पितालाई हटाएर ओमानको सत्ता सम्हालेका सुल्तान काबुस आधुनिक ओमानका निर्माताका रुपमा परिचित थिए । उनी उदारवादीका छविका सुल्तान मानिन्थे । उनले ओमानमा सामाजिक सुधारका थुप्रै काम गरेका छन् । त्यही छवि र उनले समातेको विकासको पथलाई नयाँ सुल्तानले पछ्याउँछन् पछ्याउँदैनन् त्यो भने आउने दिनले नै बताउला ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।