हेटौंडा, २६ पुस,प्रदेशसभामा शुक्रबार स्थायी राजधानी र नामाकरणका लागि प्रस्ताव दर्ता गर्न आव्हान गरिएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले आज शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म स्थायी राजधानी र नामाकरणका लागि प्रस्ताव दर्ता गर्न आव्हान गरेका हुन् ।

शुक्रबार सभामुख श्रेष्ठले प्रदेशको स्थायी राजधानी तोक्ने सम्बन्धी कार्यविधि २०७६ को अनुसूचि–१ बमोजिमको ढाँचामा प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले सिफारिस गरेको जिल्ला मध्येबाट प्रदेशको राजधानी सम्बन्धी प्रस्ताव दर्ता गर्न र प्रदेशको नामाकरण सम्बन्धी कार्यविधि २०७६ को अनुसूचि–१ बमोजिमको ढाँचामा प्रदेशको नामाकरण सम्बन्धी प्रस्ताव दर्ता गर्न समय प्रदान गरेका थिए ।

आज शनिवार बिहान ९ बजेदेखि ११ बजेसम्म प्रदेशसभा सचिवालयमा प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव गर्न प्रदेशसभा सदस्यहरुलाई सूचना गरिएको छ । आज शनिबार प्रस्ताव दर्ता गर्ने र आईतबार पुस २७ गते प्रदेशसभाबाट नाम र स्थायी राजधानी पारित गर्ने जनाइएको छ ।

प्रदेश ३ को राजधानी हेटौंडा र नाम बागमती हुने भएको छ । शुक्रबार बसेको नेकपा प्रदेश ३ को संसदीय दल र नेपाली कांग्रेस प्रदेश ३ संसदीय दलको बैठकले प्रदेश ३ को राजधानी हेटौंडा र प्रदेशको नाम बागमती राख्ने निर्णय गरेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।