२५ पुस,मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना लागू गरेर लाभ लिन कुनै शंका गर्नु नपर्ने सरोकारवालाले बताएका छन् । शुक्रबार काठमाण्डौमा भएको छलफलमा संसदको अर्थ समितिका सभापति कृष्ण दाहालले एमसीसी परियोजनाबाट लाभ लिन कुनै शंका गर्नु नपर्ने बताए । एउटा सम्झौताकै कारण अमेरिकी सेना नेपाल आएर कब्जा गर्ने परिस्थिति सिर्जना हुन्छ भन्ने कमजोर मानसिकता सामाजिक सञ्जालमा देखिएको उनको भनाइ छ ।

एमसीसीको विषय संसदमा गएको अवस्थामा बाहिर नेताहरुले हल्ला गर्नुको कुनै अर्थ नरहेको भन्दै उनले सच्याउनुपर्ने विषयहरु छन् भने कुटनीतिक तवरबाट छलफल गरेर सच्याउनु पर्ने बताए । पूर्व राजदूत डा शंकर शर्माले लिइरहेको र लिने सहयोग नेपालको पक्षमा छ भने केही गाह्रो नहुने बताए । अमेरिकाले आर्थिक सहयोग पनि गर्ने, सुरक्षामा पनि सहयोग गर्ने, सरकारलाई पनि सहयोग गर्ने भनेपछि इण्डो प्यासिफिकको रिपोर्ट उल्लेख गरे पनि नेपालले सही नै नगरेको विषयमा जबर्जस्ती गर्न नआउने तर्क गरे ।

विवेकशील नेपाली दलका सूर्यराज आचार्यले नेपालीहरुको अकर्मण्यताले एमसीसीको विषयमा विवाद उत्पन्न भएको बताए । नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लले बाहिर आएजस्तो नेपाल आएर बेस बनाउने हो कि, नेपालमै बस्ने हो कि भन्ने आशंकाहरु सही नभएको बताए । एमसीसी परियोजनामा नेपालले हस्ताक्षर गरेसँगै यो विषयमा राजनीतिक र सामाजिक बहस सुरु भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।