unn.prixa.net

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसहित पश्चिमी देशका केही नेताले ईरानी मिसाइलले युक्रेनी यात्रु विमान खसालेको बताएका छन् । क्यानडा र  बेलायतका नेताले विमान दुर्घटनाको पूरै जाँच गर्न मागसमेत गरेकाे बिबिसीले जनाएको छ । यात्रु बाेकेकाे युक्रेनी विमान तेहरान विमानस्थलबाट उड्ने बेलामा गएकाे बुधबार दुर्घटना हुँदा त्यसमा रहेका सबै एक सय ७६ जनाकाे ज्यान गएकाे थियाे ।

जस्टिन ट्रुडोले केही महत्वपूर्ण माध्यमबाट आफूलाई युक्रेनको विमान ईरानले जमिनबाट मार हान्ने मिसाइलले आक्रमण गरी खसालेको खबर पाएको बताएका छन् । हवाई जहाज दुर्घटनामा क्यानडाका ६३ जना नागरिक थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि ट्रुडोको भनाइप्रति सहमति जनाउँदै क्यानडा र बेलायत मिलेर यसबारे थप खोजी गरिरहेको बताएका छन् ।यसअघि पनि अमेरिकी सञ्चारमाध्यमले इरानले गलत तरिकाले युक्रेनी विमान खसालेको बताएका थिए ।

अमेरिकी न्युज च्यानल सीबीएसका अनुसार अमेरिकी अधिकारीहरुले युक्रेन इन्टरनेशनलको बोइङ ७३७ विमानलाई ईरानको मिसाइलले हानेको बताएका छन् ।
यद्यपि ईरानले भने यी सबै आरोप नकारेको छ ।  तर युक्रेनले संयुक्त राष्ट्रसँग विमान दुर्घटनाको जाँचमा बिना शर्त समर्थन मागेको छ ।  एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।