पुष २४ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले प्रतिनिधिसभाको सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गर्नुभएको छ ।

राष्ट्रियसभाको विहिबार बसेको बैठकको विशेष समयमा बोल्दै उहाँले सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा राजनैतिक र संबैधानिक प्रश्न उठ्नुको साथै विधायीकाको मानहानी भएकोले तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन माग गर्नुभएको हो । उहाँले संबैधानिक व्यवस्था र समग्र लोकतान्त्रिक प्रणाली नै नेकपाका शिर्ष नेताको निरंकुशतावादमा पर्दै गएको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो “यो मुलुकमा सभामुखको निर्वाचन या प्रदेशको नामाकरण संविधानको अक्षर र भावनाको आधारमा हुने वा नियमावलीको स्प्रीडमा हुने कि पार्टीको नाममा एउटा दुईटा शिर्ष नेताहरुको निरंकुशताको बन्दी हुने रु यो निकै गम्भीर राजनैतिक र संवैधानिक प्रश्न तेर्सिएको छ ।”

उहाँले संविधान, संंघीय संसद र प्रदेशसभा नियमावलिले देशमा प्रधानमन्त्रीको निर्वाचन, मन्त्रीपरिषद् गठन, प्रदेशसभाको राजधानी र प्रदेशको नामाकरण कसरी हुने भन्ने स्पष्ट रुपमा परिभाषित गरेको भन्दै संविधान र लोकतान्त्रिक प्रणालीलाई आत्मसाथ गर्न सरकारलाई सचेत गराउनुभयो ।

प्रदेश ३ को सन्दर्भमा सत्ताधारी पार्टीका एकजना सभासद्ले ‘या त मेरा अगाडि बिष पिउने वा पार्टी छोड्ने अवस्था आईपरेको छ’भनेर वक्तव्य आएको उल्लेख गर्दै उहाँले संविधानले दिएको अधिकारलाई कुनै पार्टी र पार्टीका शिर्ष नेताले हनन् गर्न नमिल्ने तर्क गर्नुभयो ।

उहाँले विधि र प्रक्रिया अनुसार अघि बढ्न सरकार र सत्तारुढ पार्टी नेकपाको ध्यानाकर्षण गराउनुभयो । उहाँले जनताको बहुदलिय जनवादको नारा अघि सारेको नेकपालाई सही अर्थमा लोकतन्त्रप्रति प्रतिवद्ध रहेको प्रमाणित गरेर देखाउन आग्रह गर्नुभयो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।