file photo

हेटौंडा, २४ पुष – आफ्नो प्रदेशको नाम र राजधानीमा सचिवालयको निर्देशनअनुसार प्रदेश सांसदलाई ह्वीप लगाउनेबारे प्रदेश ३ को नेकपा संसदीय दलको बैठक अनिर्णित भएको छ।

बिहीबार बिहान बसेको संसदीय दलको बैठकमा शीर्ष नेतृत्वले नाम बागमती र राजधानी हेटौंडा राख्न दिएको निर्देशनबारे छलफल भए पनि कुनै निर्णय नभएको प्रदेश सभा सदस्य केशव स्थापितले जानकारी दिए।

‘आज शीर्ष नेताहरूले भनेका कुराहरू साथीहरूलाई भन्ने काम भयो। ह्वीप लगाउनेरनलगाउनेबारे केही निर्णय भएन,’ स्थापितले भने,‘शुक्रबार ११ बजे फेरि बैठक बस्नेछ।’

नेकपा संसदीय दलको ह्वीप लगाउने निर्णय नगरेकाले आज बस्ने प्रदेश सभा बैठकले प्रदेशको नाम र राजधानी टुंगो नलगाउने भएको छ। प्रदेश सभा बैठक दिउँसो ३ बजेका लागि डाकिएको छ।

गत पुस १३ गते बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको थियो।

सचिवालयको निर्णय अनुसार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश कमिटीका पदाधीकारी तथा प्रदेश सांसद रहेका पार्टीका केन्द्रीय नेताहरुलाई बालुवाटार बोलाएर सचिवालयको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका थिए।

दुई अध्यक्षसँगको भेटमा प्रदेश कमिटीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले पार्टी निर्णय व्यवहारिक नभएको बताएका थिए। अध्यक्षहरूले भने पार्टी निर्णयमा तलमाथि नहुने स्पष्ट पारेका थिए।

प्रदेश सांसद समेत रहेका नेकपा नेता पशुपति चौलागाईंले पार्टी निर्णय व्यवहारिक नभएपनि पार्टीको निर्णय अनुसार नै प्रदेशको नाम र राजधानी कायम हुने बताए।

‘स्वभाविक रुपमा पार्टीभित्र बहस र छलफल भयो। सांसदहरुले पनि यो निर्णयको विरोध गरेका छन्। हामीले आफ्ना असहमतीहरु पनि दर्ज गरेका छौ। नेताहरुलाई हामीले हाम्रा कुरा भन्यौं,’ चौलागाईंले भने,‘अब प्रदेशको नाम र राजधानीका लागि पार्टी निर्णय कार्यान्वयन गराउन ह्वीप जारी हुन्छ।’

नेकपाका अधिकांश प्रदेश सांसदहरुले पार्टी निर्णयको विरोध गरेका छन्। उनीहरुले पार्टी निर्णय संविधान विपरित र अव्यवहारिक रहेको समेत बताएका छन्।

प्रदेश सरकारले यही हप्ता प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव संसदमा लैजाने तयारी गरेको छ।

प्रदेश ३ को संसद १ सय १० सदस्यीय रहेको छ। जसमध्ये ८० जना नेकपाका सांसद छन्। २ तिहाई पुग्न ७४ जना सांसद चाहिन्छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।