हेटौंडा, ३० मंसिर,पूर्व पश्चिम राजमार्गअन्तर्गत चितवनको लोथरमा सोमबार (आज) बिहान दुईवटा ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

मृत्यु हुनेमा ट्रकका चालक हेटौंडा उपमहानगरपालिका वडा नंबर १४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् । पूर्वबाट आउँदै गरेको ना ५ ख ८७४३ नंको ट्रक र विपरीत दिशाबाट गइरहेको ना ६ ख ७९६७ नंको ट्रक बिहान ७ः३० बजेको समयमा एकापसमा ठक्कर खाएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका ना ५ ख ८७४३ नंबर को ट्रकका चालक लोप्चनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

सोही ट्रकका सहचालक बागमती गाउँपालिका वडा नंबर १ मकवानपुरका २० वर्षीय सोमबहादुर थिङ, ना ६ ख ७९६७ नंबरको ट्रकका चालक कन्काई नगरपालिका वडा नंबर १ झापाका ४० वर्षीय अर्जुन जोगी र सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल देवानको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन जनाकै अवस्था मध्यम रहेको बताईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।