मंसिर ३० – भौतिक पूर्वाधार निर्माण गर्दा एक रुख काटिए, त्यसको सट्टा २५ विरुवा रोप्नुपर्छ। तर, निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा अहिलेसम्म २७ हजार रुख काटिएका छन भने पाँच हजार विरुवा मात्रै रोपिएका छन्।

नेपाली सेनाले निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएको जनाएको छ। करिब ७७ किलोमिटर निजगढ–काठमाडौं द्रुतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा पर्ने करिब ३८ हजार ६ सय ६४ रूखमध्ये २७ हजार ६९ रूख काटिएका दुर्तमार्ग आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख एवं प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताए।

उनका अनुसार, तत्काल उक्त सङ्ख्यामा रूख काट्नै पर्ने भएकाले काटिएको हो। त्यस्तै, बाँकी रहेका ११ हजार एक सय रूख अहिले नकाट्दा हुने उनको भनाइ छ। बाँकी रहेका ११ हजार एक सय रूख सुरुङ निर्माणका क्रममा काटिने प्रमुख सेनानी पहाडीले बताए।

सडक निर्माणको सिद्धान्तअनुसार पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा एक सय मिटरसम्मका रूख काट्नुपर्ने भनी वन मन्त्रालयसँग अनुमति लिइएको आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख पहाडीको भनाइ छ। जसअनुसार, द्रुतमार्गमा रुख काटिएका हुन्।

वातावरणीय मापदण्डअनुसार एक रूख काट्दा २५ रूख रोप्नुपर्छ। अहिले सेनाले भने पाँच हजार रुख मात्रै रोपेको छ। अहिले कोहल्वी नगरपालिकाका विभिन्न स्थानमा करिब पाँच हजार बिरुवा रोपिएको उनले बताए।

उनका अनुसार, रोप्नु पर्ने एक लाख ५० हजार विरुवा उत्पादन भइसकेको छ। सेनाले निजगढ र राजदरबारमा विरुवा उत्पादन गरेको जनाएको छ।

अब बाँकी विरुवा कहाँ रोप्ने एकीन भएको छैन्। त्यसका लागि ठाउँ खोजी भइरहेको जनाएको छ।

द्रुतमार्ग निर्माणका क्रममा काटिएका रूखको व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको छ। वन मन्त्रालयमातहत रहेर काटिएका रूख जिल्ला वन कार्यालयमा र सामुदायिक वन मातहतमा रहेका तथा काटिएका रूख सामुदायिक वनलाई सरोकारवाला निकायको रोहवरमा बुझाइएको सेनाले जनाएको छ। –राससको सहयोगमा


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।