मंसिर २४ – नेपालले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ। त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा भुटानलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण हात पारेको हो। नेपालसँगको पराजयसँगै भुटान रजत पदकमा सिमित भएको छ।

खेलको १५ औँ मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। तर भुटानका लागि ३६ औँ मिनेटमा चेन्चो ग्ल्याजेनले गोल गर्दै खेल बराबरीमा ल्याए। खेलको ५३ औँ मिनेटमा सुनिल बलले गोल गर्दै नेपालको जित सुनिश्चित गरेका हुन्।

सन् १९९३ मा नेपालले साग फुटबलमा पहिलो पटक स्वर्ण पदक जितेको थियो। त्यो बेला टिमका खेलाडी रहेका बालगोपाल महर्जन अहिले प्रशिक्षकको भूमिकामा छन्।

पछिल्लो पटक सन् २०१६ को सागमा नेपालले भारतलाई पराजित गरेर स्वर्ण जितेको थियो। यो सागमा भने भारत सहभागी भएन। अहिलेसम्म नेपाल पाँच पटक फाइनलमा पुगेको छ।

भुटान भने सागको इतिहासमा पहिलो पटक फाइनलमा आएको हो। भुटानको फुटबल पछिल्ला वर्षहरुमा लगातार सुधार हुँदै गएको छ। समूह चरणमा नेपालसँग ४–० पराजित भएको भुटानले उत्कृष्ट पुनरागन गर्दै फाइनलसम्मको यात्रा तय गरेको थियो।

दोस्रो खेलमा श्रीलंकासँग १–१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २–१ ले हराएको थियो।

समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले बंगलादेशलाई १–० ले पराजित गरेर फाइनलमा स्थान बनाएको हो। नेपाल लगातार दोस्रो पटक साग फुटबलको फाइनलमा पुगेको हो।

भुटानले जारी सागको आफ्नो पहिलो खेलमा बंगलादेशलाई १–० पराजित गरेको थियो। दोस्रोमा नेपालसँग पराजित भए पनि तेस्रोमा माल्दिभ्सलाई २–१ ले हराएको भुटानले समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३–१ ले पराजित गर्दै फाइनल पुगेको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।