file photo

एजेन्सी, २४ मंसिर,बार्सिलोनाका कप्तान लियोनल मेस्सीले च्याम्पियन्स लिगअन्तर्गत इटालियन क्लब इन्टर मिलानविरुद्ध नखेल्ने भएका छन् । बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भेर्डेले मेस्सीलाई आराम दिएका हुन् । युरोपियन च्याम्पियन्स लिगको समूह चरणका अन्तिम खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब इन्टर मिलानसँग खेल्दैछ । इन्टरको घरेलु मैदानमा हुने यो खेल राति १ः४५ बजेबाट नै सुरु हुनेछ । च्याम्पियन्स लिगमा समूह ‘एफ’को शीर्ष स्थानमा रहेको बार्सिलोनाले सो समूहको दोस्रो स्थानको इन्टरसँग खेल्न लागेको हो ।

बार्सिलोनाले पाँच खेल खेल्दा ३ खेलमा जित र २ खेलमा बराबरी खेल्दै ११ अंक बनाएको छ । यस्तै इन्टरसँग भने ७ अंक छ । उसले समान पाँच खेलमध्ये २ खेलमा जित, एक खेलमा बराबरी र २ खेलमा हार ब्यहोरेको छ । उक्त समूहको तेस्रो स्थानमा बोरुसिया डर्टमुण्ड हुँदा चौथो स्थानमा स्लाभिया प्रहा छ । स्लाभिया र डर्टमुण्डले आजै हुने अर्को खेलमा प्रतिस्पर्धा गर्दैछन् । बार्सिलोनाले यसअघि नै बोरुसिया डर्टमुण्डलाई हराएर अन्तिम १६ मा स्थान बनाइसकेका कारण पनि प्रशिक्षक भाल्भेर्डेले इन्टरविरुद्धको खेलका लागि कप्ताद मेस्सी टोलीमा नराखेको बताइएको छ ।

उनले खेलको पूर्वसन्ध्यामा बोल्दै भनेका छन्, ‘हामीले निर्णय गरेका छौं कि मेस्सीले यो खेल खेल्ने छैनन् । उनीबाहेक पनि ११ खेलाडीले यो खेल खेल्नेछन् । हाम्रा लागि उनी निर्णायक खेलाडी हुन् तर उनी नखेलेको यो पहिलो पटक होइन । उनी हाल आराममा छन् ।’ मेस्सी नभए पनि बार्सिलोनाले इभान राकिटिक, लुइस स्वारे, एन्टोइन ग्रिजम्यान, फ्रेन्की डी योङ, भिडाल, अन्सु फातिजस्ता खेलाडीलाई प्रारम्भिक टोलीमा राखेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।