file photo

एयरबस आएपछि पनि राष्ट्रिय ध्वजा बोकेर उडिरहेको बोइङलाई मर्मत गर्न मलेसिया लगियो, १० करोड खर्चेर ल्याएपछि उडाउनुको सट्टा ग्राउन्डेड गरेर बिक्रीमा राखियो, स्विस कम्पनीको सिफारिसअनुसार निगम आफैंले तोकेको मूल्य ४५ प्रतिशत घटाएर टेन्डर आह्वान

चार वर्षअघिसम्म नेपाल एयरलायन्सको उडान धानिरहेको र एयरबस आएपछि पनि उडान गरेको बोइङ नेपाल वायुसेवा निगमका लागि अर्घेलो भएको छ । नेपाली ध्वजा बोकेर उडिरहेको जहाजलाई ग्राउन्डेड गरेर थोत्रो बनाएपछि कवाडीको भाउमा बेच्न थालिएको छ । निगम आफैँले तोकेको मूल्यमा पनि ४५ प्रतिशत घटाएर टेन्डर आह्वान भएको छ ।

एयरबस आएपछि पनि उडिरहेको बोइङलाई मर्मत गर्न मलेसिया पठाइएको थियो । १० करोड खर्चेर ल्याएपछि उडाउनुको सट्टा ग्राउन्डेड गरेर बिक्रीमा राखिएको थियो ।
३२ वर्ष पुरानो बोइङ ‘गण्डकी’ बिक्री गर्न निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंसाकारले गत वर्ष स्विस कम्पनी फिन्टेकका प्राविधिक बोलाएर मूल्यांकन गराएका थिए ।

फिन्टेकका प्राविधिकले बोइङको मूल्य ६४ लाख अमेरिकी डलर (७३ करोड रुपैयाँ) राख्न सिफारिस गरेका थिए । उनीहरूले ५२ लाख ९६ हजार डलर (६० करोड ३७ लाख रुपैयाँ)भन्दा कममा बेच्नै नहुने सिफारिस गरेका थिए । यो सिफारिस आएको एक वर्षसम्म बोइङलाई ग्राउन्डेड गरेर राखियो । र, बोइङ बिक्रीका लागि गत ११ असारमा निगमले ४५ दिने सूचना जारी गर्‍यो ।

निगमले सूचना निकाल्दा बोइङको मूल्य ७६ लाख ७६ हजार अमेरिकी डलर (करिब ८८ करोड) निर्धारण गरेको थियो । तर, आवेदन नपरेको भन्दै निगमले चार महिनापछि २६ कात्तिकमा सोझै ४५ प्रतिशत मूल्य घटाएर दोस्रो सूचना जारी गर्‍यो । जसअनुसार बोइङको मूल्य ४२ लाख ५० हजार अमेरिकी डलर (४८ करोड ५० लाख रुपैयाँ) कायम भएको छ । तर, एकैपटक ४० करोड मूल्य घटाउँदा निगमले स्वतन्त्र अध्ययन गराएको छैन, सोझै सञ्चालक समितिले निर्णय गरेको हो ।

‘स्विस कम्पनीले ७३ करोड रुपैयाँमा बिक्री गर भन्ने सुझाब दिएको हो । तर, उक्त मूल्यांकनअनुसार बिक्री हुने नदेखिएपछि मूल्य घटाउनुपरेको हो,’ निगमका प्रवक्ता गणेशबहादुर चन्दले भने, ‘मूल्य घटाउन सञ्चालक समितिमा प्रस्ताव लगेका हौँ । त्यही आधारमा मूल्य घटाउने निर्णय भएको हो । हाम्रै प्राविधिकले अध्ययन गरेर नयाँ मूल्य निर्धारण गरिएको हो ।’
आधाजसो मूल्य घटाएर सूचना निकालेपछि बोइङ किन्न तीन कम्पनीले आवेदन दिएका छन् । अमेरिकी कम्पनीहरू एभियोन र एमके एभिएसन तथा पोल्यान्डको सिएस बिएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङले निगमको बोइङ किन्ने इच्छा देखाएका छन् ।

त्यसो त निगमको कार्यकारी अध्यक्ष बनेर भित्रिएलगत्तै मदन खरेलले बोइङ उडाउने भन्दै मर्मतका लागि मलेसिया पठाएका पनि थिए । २८ अक्टोबर २०१८ मा पठाएको बोइङ मर्मत सकेर १६ जनवरी २०१९ मा काठमाडौं ल्याइएको थियो । मर्मतमा निगमले १० करोड खर्च गरेको थियो । तर, पाइलटको सीप परीक्षण प्रमाणपत्र (पिपिसी)को म्याद सकिएको भन्दै उडान गरिएन ।

वर्षौंदेखि उही बोइङ उडाउँदै आएका निगमका पाइलटलाई एक साता तालिम दिएमा पिपिसीको म्याद थप्न सकिन्थ्यो । तर, निगम नेतृत्वले बोइङलाई जसरी पनि तह लगाउने रणनीति लिएकोले उडाउन पहल गरेन । तर, यसरी बेच्ने नै हो भने मर्मतका नाममा १० करोड खर्च किन गरियो ? प्रश्न अनुत्तरित छ । त्यसमाथि अहिले तोकिएको मूल्य पनि ४० करोड घटाएर बेच्न लागिएको छ ।

निगमले सन् १९८८ मा अमेरिकी कम्पनी बोइङसँग खरिद गरेको यो जहाजले राष्ट्रिय ध्वजा बोकेर युरोप र जापानसम्मको उडान भरेको थियो । तर, यसलाई जानाजान थोत्रो बनाएर बेच्न थालिएको छ । निगमसँग अहिले चारवटा एयरबस छन् । त्यसैले एउटा बोइङ उडाउन खर्चिलो हुन्छ । तर, उचित मूल्यसमेत दाबी नगरी बेच्न थालिएको छ ।

पुराना जहाज विस्थापनमा यसअघि पनि अनियमितता नभएका होइनन् । सन् १९९३ मा पनि निगमले ७२७ सिरिजका दुई जहाज १२ करोड रुपैयाँमा बिक्री गरेको थियो । जब कि यो सिरिजका जहाज त्यतिवेला युरोपमै मज्जासँग उडिरहेका थिए । चल्ने अवस्थाकै बोइङ कौडीको भाउमा बेचिएको भन्दै त्यतिवेला संसद्देखि सडकसम्म व्यापक विरोध भएको थियो । बेचिएको जहाजले त्यसपछि पनि अफ्रिकामा उडान गरेको थियो ।

हचुवाको भरमा निर्णय भएको होइन, सञ्चालक समितिले गरेको हाे
निगमका प्रवक्ता  गणेशबहादुर चन्द 

बोइङ बिक्री गर्दै हुनुहुन्छ, तर अध्ययनपछि निर्धारण भएको मूल्य ४५ प्रतिशत किन घटाउनुभयो ?
पहिलोपटक ७६ लाख ७६ हजार डलर
(८८ करोड रुपैयाँ)मा बिक्री गर्न सूचना निकालेको हो । तर, बिक्रीका लागि कसैले पनि आवेदन नदिएपछि घटाउनुपरेको हो ।

पहिले स्विट्जरल्यान्डको कम्पनीमार्फतअध्ययन गराएर मूल्य निर्धारण भएको थियो । अहिले घटाउँदा अध्ययन गर्नुभयो कि भएन ?
स्विस कम्पनीले ७३ करोड रुपैयाँमा बिक्री गर भन्ने सुझाब दिएको हो । तर, उक्त मूल्यांकनअनुसार बिक्री हुने नदेखिएपछि मूल्य घटाउनुपरेको हो । मूल्य घटाउन सञ्चालक समितिमा प्रस्ताव लगेका हौँ । त्यही आधारमा मूल्य घटाउने निर्णय भएको हो । हाम्रै प्राविधिकले अध्ययन गरेर नयाँ मूल्य निर्धारण गरिएको हो ।

त्यसरी हचुवाको भरमा मूल्य घटाउन पाइन्छ ? त्यो पनि एकैपटक ४० करोड ? यसको जिम्मा कसले लिन्छ ?
निर्णय सञ्चालक समितिले गरेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।