file photo

हेटौंडा, मंसिर २२- नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको कार्यक्रममा सहभागी हुन जान लागेका मकवानपुरका दुई विद्यालयका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मनहरी गाउँपालिका २ सीता माविका विद्यार्थीलाई इलाका प्रहरी कार्यालय मनहरी र पशुपति माविका विद्यार्थीलाई नेवारपानी प्रहरी चौकीले पक्राउ गरेको हो ।

विप्लव समूहको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले भारतले सीमा मिचेको भन्दै चितवनमा प्रदर्शन कार्यक्रम राखेको छ । उक्त कार्यक्रममा सहभागी हुन मकवानपुरका दुई विद्यालयका विद्‍यार्थी बसमा राखेर लगिँदै थियो ।

मनहरीले नियन्त्रणमा लिएको बसमा विद्यार्थी र नेवारपानीले नियन्त्रणमा लिएको बसमा शिक्षकसहितको टोली रहेको प्रहरीको भनाइ छ ।

नेवारपानी चौकीमा सगरमाथा डिलक्सको ना ७ ख ८१६२ नम्बरको बसमा नेपाली सेनाको जस्तो पोशाक लगाएका युवा दस्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका(२ का २१ वर्षीय सूर्य गोले रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।