हेटौंडा, २२ मंसिर,प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा निर्माणाधिन केन्द्रिय खेलकुद प्रतिष्ठानको अवलोकन गरेका छन् । अवलोकनका क्रममा मुख्यमन्त्री पौडेलले तोकिएको समयमा नै काम सक्न निर्देशन दिएका छन्। यही वर्ष फुटबल, कृकेट खेलका लागि मैदान तयार हुने गरि काम भैरहेको मुख्यमन्त्री पौडेलले जानकारी दिए । देशकै उत्कृष्ट खेल मैदान बनाउने लक्ष्य रहेको मुख्यमन्त्री पौडेलले बताए ।

‘प्रदेश सरकारले खेलकुद प्रतिष्ठानभित्र फुटबल मैदान बनाउन गत आर्थिक वर्षमा पाँच करोड रुपैयाँ विनियोजन गरेको थियो। उक्त रकमले फुटबल मैदान बनाउने काम भइरहेको छ । हाल धमाधम फुटबल चौरको काम भैरहेको छ भने पुस महिनाभित्र दुबो समेत रोपिसक्ने लक्ष्य रहेको समितिको भनाई छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्षमा प्रतिष्ठान परिसरमा विभिन्न खेलको पूर्वाधार निर्माण गर्न १३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। ‘यो हाम्रो प्रदेशको गौरवको योजना भएकाले बजेटको कमीले अब काम रोकिँदैन’, मुख्यमन्त्री पौडेलले भने ।

२३ बिघा जमिनमा फैलिएको उक्त प्रतिष्ठानमा खेलाडी बसोबास गर्ने सुविधायुक्त छात्रावासको निर्माण पनि भइसकेको छ। प्रतिष्ठानको गुरुयोजना अनुसार फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडीपोखरी, महिला तथा पुरुष खेलाडीको छुट्टाछुट्टै आवास कक्ष, रिक्रिएसन कक्ष, औषधोपचार कक्ष र प्रशासनिक भवन निर्माण हुनेछ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।