मंसिर २२ – त्रिभुवन विश्वविद्यालयमा पढ्ने विद्यार्थीले एक लाख रुपैयाँसम्म उपचार निःशुल्क रुपमा गर्न पाउने भएका छन् । त्रिविले यसै आर्थिक वर्षदेखि विद्यार्थीको उपचारमा एक लाख रुपैयाँसम्म खर्च गर्ने भएको हो ।

त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रति विद्यार्थीलाई उपचार खर्च एक लाखसम्म उपलब्ध गराइने त्रिविले जनाएको हो । यसअघि त्रिविले प्रतिविद्यार्थी ५० हजारसम्मको उपचार खर्च बेहोर्ने व्यवस्था गरेको थियो । यसवर्षबाट भने एक लाख पुर्‍याइएको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए ।

देशभरि आङ्गिक क्याम्पसमा अध्ययन गरेका सबै विद्यार्थीले त्यो सुविधा पाउने छन् । त्रिविले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धवलागिरी अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगञ्जबाट उक्त सुविधा दिनेछ ।

ती अस्पतालसँग त्रिविले उपचार खर्चका लागि एक लाखसम्म खर्च गर्ने गरी सम्झौता गरेको छ । सम्झौताअनुसार ती अस्पतालले प्रयोगशाला परीक्षण, शैया शुल्कमा प्रति विद्यार्थीलाई एक लाखसम्म उपचार खर्च व्यहोर्ने गरेका छन् । यसै आर्थिक वर्षमा अन्य क्याम्पस र अस्पतालसँग सम्झौता गर्ने तयारी गरिरहेको त्रिविले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।