अर्थमन्त्री युवराज खतिवडाले नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले निर्माण गर्न लागेको भवनको शिलान्यास गरेका छन् । नेवापसको कार्यालय भनिमण्डलमा आयोजित एक विशेष कार्यक्रमबीच अर्थमन्त्री खतिवडाले भवनको शिलान्यास गरेका हुन् । आगामी १० महिनाभित्र सो भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य नेवापसले जनाएको छ । अर्थमन्त्री खतिवडाले भौतिक निर्माण मात्र नभई वातावरण संरक्षण र नीति निर्माणको क्षेत्रमा नेवापससँग सहकार्य गर्न सरकार तयार रहेको बताए ।

अर्थमन्त्री खतिवडाले मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन, सहकार्यका रूपमा बुझिनुपर्ने जिकिर गरे । उनले गरिबी निवारण र वातावरण संरक्षण एकअर्कासँग जोडिएको बताए । ‘वन विनाश, दुर्लभ वन्यजन्तुको तस्करी र खनिजको दोहन गरिबीसँग जोडिएको छ त्यसैले राज्यले त्यसको व्यवस्थापन गर्नुपर्छ,’ उनले भने ।

वरिष्ठ पत्रकार भैरव रिसालले कार्य समितिलाई शुभकामना दिँदै समूहले विभिन्न कालखण्ड पार गर्दै वातावरणको क्षेत्रमा छुट्टै पहिचान बनाएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेवापसका अध्यक्ष कसमस विश्वकर्माले समूहका लागि आज ऐतिहासिक दिन रहेको बताए । सरकारसँग नजिकमा रहेर वातावरण र विकासका मुद्दा उठाउने र जनचेतना जगाउने काममा वर्षौंदेखि लागिरहेको उनले बताए ।

समूहसँग अहिले उपलब्ध स्रोतले भवन निर्माण गर्न नसकिने र सबैको सहभागिता र सहयोग आवश्यक रहेकामा उनले जोड दिए । उनले सबैलाई आफ्नो क्षेत्रबाट भवन निर्माणका लागि सहयोग गर्न आह्वान समेत गरे । दुई वर्षे कार्यकालको एक वर्ष सकिएको भन्दै अबको एक वर्षको आफ्नो कार्यकालमा भवन निर्माणको काम सम्पन्न गर्ने प्रण गरिएको जानकारी दिए । कार्यक्रममा बोल्दै नेवापसका महासचिव निमेष रेग्मीले विगत ३३ वर्षदेखिको सपना साकार हुन लागेको बताए । उनले भने, ‘भवनको शिलान्यसँगै विगत ३३ वर्षदेखिको सपना अब साकार हुन लागेको छ । अबको १० महिनामा सो भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौ ।’ ठूलो परिवार एकीकृत भएको भन्दै वातावरण, दिगो विकास र नेपालको संरक्षणका लागि प्रयास गर्दै आएको बताए ।

समूहले नेपालको वातावरण जोगाउन विभिन्न प्रयास गरेको र जनचेतना फैलाउने काम गरेको भन्दै महासचिव रेग्मीले भवन निर्माणका लागि सरकारको सहयोगको अपेक्षा गरे । शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, अन्य सरकारी अधिकारी, नेवापसका पूर्वपदाधिकारी, सदस्य तथा वातावरणविद्को उपस्थिति थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।