मंसिर २१ – फुच्चे केटो । निकै लुरे । रेन्ज (बल प्रहार गर्ने स्थान) मा बल टिप्थे । पछि बल हान्ने मौका पाए, राम्रो हाने । १–२ होल खेल्न दिइयो, राम्रो गरे । प्रगति गर्दै गए, मौका पाउँदै गए । गल्फ सेट बोकेर खेलाडीको पछिपछि हिँड्ने क्याडीको काम पनि गरे । तिनै सुवास तामाङले १३ औं दक्षिण एसियाली खेलकुद ९साग० को गल्फमा शुक्रबार व्यक्तिगत र टिम स्पर्धामा गरी २ स्वर्णपदक दिलाए ।

रोयल नेपाल गल्फ क्लब (आरएनजीसी) मा ६ वर्षअघि अरूले प्रहार गरेको बल टिप्दै गरेको देखेका दीपक थापाले उनै सुवासको स्वर्ण यात्राका चारै दिनको खेललाई गोकर्ण गल्फ क्लबमा नियाले । त्यो बेला सुवासलाई बल टिप्न अह्राउने थापा यो सागको नेपाली गल्फ टिमका प्रशिक्षक पनि हुन् । ‘ती लुरे फुच्चेले बल टिपेर ४०–५० रुपैयाँ थापेको हिजोजस्तै लाग्छ,’ आरएनजीसीका प्रो थापाले भने, ‘आज आफ्नै सामुन्ने देशकै नाम उचो बनाउने पदक जिते । सागमा स्वर्ण जित्ने हामी सबैको मिसन पूरा गरिदिए । हिरो नै निस्किए ।’

लेले, ललितपुरका सुवासले बंगलादेशका मोहमद फाहरादको चुनौती ८ स्ट्रोकले पन्छाउँदै व्यक्तिगत स्पर्धामा स्वर्ण जितेका हुन् । उनले कुल ७२ होलको खेलमा १४ अन्डर २७४ स्कोर गरे । पार ७२ को क्लबमा उनले पहिलो दिन १ अन्डर ७१, दोस्रो दिन ६ अन्डर, तेस्रोमा ४ अन्डर र अन्तिम दिन शुक्रबार ३ अन्डर ६९ को कार्ड बनाए । नौ स्ट्रोकको अग्रता लिएर अन्तिम चरणको प्रतिस्पर्धामा ओर्लिएका उनले भने, ‘हिजो राम्रो खेलेको थिएँ । सबैले आजको ९उपाधि होड० थाहा हुन्छ भन्नुभयो । सबैले भविष्यका लागि हुन्छ, राम्रो खेल्नुपर्छ भन्नुभयो । फराकिलो अग्रता भएकाले जित्नेमा ढुक्क थिए । सुरक्षित खेल्दै स्वर्ण जितेँ ।’ दोस्रो दिनबाट अग्रता लिएका उनले उपाधि यात्रामा तनाव महसुस नगरेको पनि बताए । यसअघि ५ अन्डर ९सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप २०१९० खेलेका उनको गोकर्णमा हालसम्मकै सबभन्दा राम्रो स्कोर हो, १४ अन्डर । र, नेपाली एमेच्योर गल्फरको सबभन्दा राम्रो स्कोरको कीर्तिमान पनि । उनले गत वर्ष व्यावसायिक गल्फ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको उपाधि जित्दै सनसनी मच्चाएका थिए । त्यसक्रममा उनले आरएनजीसीमा ७ अन्डर खेलेका थिए ।

यो सागको सफलतासँगै सुवास नेपालको वरीयतामा शुक्रबहादुर राई र टंकबहादुर कार्कीलाई उछिन्दै शीर्षस्थानमा पुगे । उनी विश्व गल्फ वरीयतामा सबभन्दा माथिल्लो ९७४१० स्थानमा रहेका नेपाली हुन् । उनले आठौं राष्ट्रिय खेलकुदमा त्रिभुवन आर्मी क्लबबाट टिम स्पर्धामा रजत हात पारेका थिए । उनकै उत्कृष्ट प्रदर्शनमा शुक्र, टंक र नीरज तामाङले यो सागको पुरुष टिम स्पर्धामा ८३८ अंक जोड्दै स्वर्ण जितेको हो ।

यसमा बंगलादेश ९८५६० ले रजत र श्रीलंका ९८७८० ले कांस्य हात पारे । शुक्रले ४ अन्डर २८४ सहित व्यक्तिगत स्पर्धामा कांस्य हात पारे ।

नेपाली टिमलाई सिंगापुरमा किम बाल्दविनले प्रशिक्षण दिएका थिए । बाल्दविनले गोकर्ण आएर पनि एक साता ट्रेनिङ दिए । गल्फ टिमले दुई महिना गोकर्णमा नियमित अभ्यास गर्ने अवसर पाएको थियो । त्यसले दक्षिण एसियाली खेलकुदको महाकुम्भमा गल्फबाट नेपाललाई पहिलोपल्ट पदक जित्न सहज भएको हो । सागमा दीपक थापा र धनबहादुर थापा प्रशिक्षकको भूमिकामा छन् ।

भाग्यको खेल
सुवास १० वर्षको छँदा साथीसँगै आरएनजीसी पुगेका थिए । ४ कक्षा पढेपछि स्कुल छाडेका उनले भने, ‘श्याम दाइले बल टिप्ने काम गर्ने हो भन्नुभयो, मैले ‘हुन्छ’ भनेँ र बल ब्वाई बनेँ । बल टिप्नेमात्रै काम हुन्थ्यो । रमाइलो लाग्थ्यो ।’ उनको काम आरएनजीसीमा आउने सौखिन गल्फरहरूले प्रहार गरेको बल टिप्ने थियो । बल टिप्दै गए, बेला मौकामा अरूकै क्लब ९बल प्रहार गर्ने० लिएर आफैं प्रहार गर्न थाले । बेला मौका क्याडी पनि भए ।

बल ब्वाई बनेको ६–७ महिनापछि पहिलोपल्ट उनले बल हान्ने मौका पाएका थिए । त्यसै क्रममा एक दिन टासी घले ९नेपाल गल्फ संघका अध्यक्ष० ले उनलाई देखे । बल प्रहार गर्न लगाए । सुवासले राम्रो गरे । त्यसपछि उनले सौखिनहरूको खेलमा बेलुका नियमित अभ्यास गर्ने मौका पाए । चार वर्षजति बल ब्वाई छँदाको अनुभव सुवासले सुनाए, ‘बिहान ६ देखि १२ बजेसम्म बल टिप्थें । त्यसपछि अभ्यास गर्थें ।’

अभ्यासमा राम्रो गर्दै गए । संघको युवा विकास परियोजनामा छनोट भएपछि उनले तीन वर्षयता व्यावसायिक प्रतियोगिता ‘सूर्य नेपाल गल्फ टुर’ मा एमेच्योर खेलाडीका रूपमा नियमित प्रतिस्पर्धा गर्ने अवसर पाइरहेका छन् । थिम्पु, थाइल्यान्ड, बंगलादेश, भुटान, सिंगापुरमा खेल्न पुगे । फाल्डो सिरिज नेपालमा गत वर्ष यू–१६ मा पहिलो भएपछि भियतनाममा गएर एसियाली स्तरमै प्रतिस्पर्धा गरे । यसपालि नेपाल सिरिजको उपाधि जिते र चीन पुगेर एसिया ग्य्रान्ड फाइनल खेले । यसैपालि भुटान ओपन एमेच्योर च्याम्पियनसिपमा तेस्रो भए ।

क्लबको बसाइ
सुवासका आमा, बुबा र भाइ लेलेकै घरमा छन् । उनी भने आठ महिनायता आर्मी अफिसर्स गल्फ क्लबमै बस्छन् । बिहान ६ बजे तयार भएर गल्फ कोर्समा निस्केपछि ५ बजेसम्म बस्छन् । अहिले उनको काम खेल्ने मात्रै हो । ‘दैनिक ८०० बल हान्छु, १८ होल खेल्छु,’ उनले सुनाए । पाँच महिनायता राष्ट्रिय टिम तयारीमा रहेर ट्रेनिङ गरेका उनको विशेषगरी चिप र पट राम्रो छ ।

नेपालमा सातवटा गल्फ कोर्स छन् । उनलाई गोकर्ण गल्फ क्लबमा खेल्न अलि गाह्रो लाग्छ । खासमा १३ औं सागमा उनीभन्दा टंक र शुक्रसँग नेपालले स्वर्णको आशा गरेको थियो । घरेलु एमेच्योर गल्फमा सुवासले उनीहरूसँगै प्रतिस्पर्धा गरिरहेका छन् । सागअघि माथिल्लो वरीयतामा रहेका शुक्र र टंकसँगको प्रतिस्पर्धाबारे सुवासले भने, ‘उहाँहरूसँग खेल्दा दबाब त हुन्छ । उहाँहरू राम्रो सट हान्नुहुन्छ । मलाई पनि त्यस्तै राम्रो हानौं हानौं लाग्छ र प्रयास गर्छु ।’

ड्राइभर २६० फिटसम्म प्रहार गर्ने उनी अबको लक्ष्यबारे भन्छन्, ‘गल्फमै अगाडि बढ्ने मन छ । इन्डियन टुरमा खेल्ने लक्ष्य छ । त्यसका लागि भाषा ९अंग्रेजी० जान्नुपर्छ, सिक्नेछु । खेलमा योभन्दा धेरै मिहिनेत पनि गर्नुपर्छ ।’ एसियाको व्यावसायिक गल्फकै प्रतिष्ठित छ, इन्डियन टुर । यसअन्तर्गत थुप्रै प्रतियोगिता हुन्छन् । नेपालका तोरण शाही र शिवराम श्रेष्ठले मात्रै भारतको व्यवसायिक गल्फ टुरको सिजन खेलेका छन् ।

नेपालका पूर्वनम्बर १ गल्फर दीपक आचार्य सुवासमा उत्कृष्ट खेलाडी बन्न सक्ने खुबी भएको बताउँछन् । उनले सुवासबारे भने, ‘अन्तर्राष्ट्रिय गल्फमै राम्रो गर्न सक्ने प्रतिभा देखिएका खेलाडी हुन् । उनी एसियाली स्तरसम्म पुग्ने देखिन्छ । त्योभन्दा माथि पुग्न उनको प्रतिभासँगै शारीरिक क्षमतामा पनि भर पर्छ ।’ उनले यो सागको प्रदर्शनबारे भने, ‘चारै दिन स्कोर अन्डरमा राख्नु धेरै राम्रो हो । १४ अन्डरको स्कोरलाई उत्कृष्ट मान्नुपर्छ । उनले अभ्यासमा सहजै ६–७ अन्डर खेलिरहेका थिए ।’ कान्तिपुर दैनिकमा खबर छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।