काठमाडौं, १९ मंसिर । आफ्ना सन्तान शिक्षित बनून् भन्ने हरेक बाबुआमाको सपना हुन्छ । सन्तानलाई शिक्षित बनाएर उनीहरुको भविष्य उज्वल पार्न कतिपय बाबुआमाले आफ्नो जीवन नै अर्पण गरेका हुन्छन् । कतिपय बाबुआमाले राम्रो शिक्षा दिएर छोरा सरह नै छोरीलाई पनि सक्षम बनाउन चाहन्छन् ।

तर दशकौंदेखि युद्धको भूमरीमा फँसेको अफगानिस्तानमा भने कैयौं बालबालिकाहरु शिक्षाबाट वञ्चित छन् । अलकायदा र आईएस जस्ता अतिवादी इस्लामिक संगठनको दबदबा रहेको अफगानिस्तानमा छोरीलाई आधुनिक शिक्षा दिने कार्य कतिपय बाबुआमाले सोचेका पनि हुँदैनन् । किनभने छोरीलाई शिक्षित बनाउने कार्य उनीहरुका लागि निकै चुनौतीपूर्ण र जोखिमयुक्त हुन्छ ।

तर  सुरक्षा चुनौति र सांस्कृतिक सीमाका बाबजुद पनि एकजना अफगानी बाबुले आफ्ना छोरीलाई शिक्षित बनाउन गरेको कार्यले सबैको मन छोएको छ । अफगानिस्तान जस्तो मुलुकमा ती बाबुले छोरीको शिक्षाप्रति देखाएको प्रतिबद्धता र जिम्मेवारीबारे सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।

छोरीलाई पनि छोरा सरह शिक्षा दिनुपर्छ भन्ने ती बाबुको नाम हो, मिया खान । खान अफगानिस्तानको पक्तिका प्रान्तका बासिन्दा हुन् । उनको एउटै मात्र उद्देश्य छ- आफ्ना छोरीहरुले राम्रो शिक्षा पाऊन्, आफ्नै खुट्टामा उभिन सकून् र समाजको सेवा गरुन् ।

हाल अफगानिस्तानमा सक्रिय एक स्विडिस एनजिओले आफ्नो फेसबुकमा मिया खानबारे जानकारी दिँदै एउटा पोष्ट गरेको छ । उक्त पोष्टमा खान र उनका छोरीहरुका तस्बिर समेत राखिएको छ ।

अफगानिस्तानमा क्रियाशील स्विडिस कमिटी फर अफगानिस्तान नामक एनजिओले खानको कहानी र तस्बिर पोष्ट गरेको हो । एनजिओको पोष्टमा ‘एक बाबु जो आफ्ना छोरीको शिक्षालाई आफ्नो जिम्मेवारी ठान्छन्’ भनेर लेखिएको छ ।

खानको तस्बिरसहितको उक्त पोष्ट सामाजिक सञ्जालमा धेरै पटक शेयर भइसकेको छ । छोरीलाई शिक्षित बनाउन खानले गरेको कार्यको सबैले प्रशंसा गर्दै कमेन्ट गरिरहेका छन् ।

स्विडिस एनजिओले पोष्टसँगै एउटा ब्लगको लिङ्क पनि शेयर गरेको छ । उक्त ब्लगमा खानका ३ जना छोरी रहेको उल्लेख गरिएको छ । त्यस्तै तीनवटै छोरीले राम्रो शिक्षा पाऊन् भन्ने खानको चाहना छ भनेर समेत उल्लेख छ ।

कतिले खानलाई ‘नायक पिता’ भनेर प्रशंसा गरेका छन् । कतिले भने खानको कहानी सुनेर आँखाबाट आसु आएको समेत उल्लेख गरेका छन् ।

पोष्टमा दिइएको जानकारी अनुसार खान आफैंले छोरीहरुलाई दैनिक विद्यालय लैजाने र ल्याउने गर्छन् । छोरीलाई विद्यालय लैजाने र ल्याउने उनको दैनिक कार्य नै भइसकेको छ । उनले मोटरसाइकलमा राखेर १२ मिटर टाढा रहेको विद्यालयमा छोरीलाई पुर्‍याउँछन् । अनौठो के छ भने उनी विद्यालय छुट्टी नभइन्जेलसम्म त्यही बस्छन् । छुट्टी भएपछि पुनः आफैंले छोरीलाई घर लिएर आउँछन् ।

खानको घरबाट १२ किलोमिटर टाढा नुरियाना विद्यालय छ । त्यो विद्यालय स्विडिस एनजिओले सञ्चालन गर्दै आएको हो । हाल नुरियाना विद्यालयमा २२० जना बालिकाहरु पढ्छन् ।

कक्षा ६ सम्म पढाइ हुने उक्त विद्यालयमा खानका छोरीहरु समेत भर्ना भएका छन् । खानका २ जना छोरी ६ कक्षामा र एकजना छोरी ५ कक्षामा पढछिन् ।

प्रायः खानले नै तीनैजना छोरीलाई विद्यालय ल्याउने र लैजाने काम गर्छन् । कहिलेकाहीं भने उनका छोराहरुले यो काममा उनलाई सहयोग गर्छन् ।

छ कक्षामा पढ्ने खानकी छोरी रोजीलाई उदृत गर्दै ब्लगमा लेखिएको छ- ‘पढ्न पाउँदा मलाई निकै रमाइलो लागेको छ । म अहिले ६ कक्षामा पढ्छु । मेरा बाबु वा दाईले दिनदिनै मोटरसाइकलमा विद्यालय ल्याइदिनु हुन्छ । छुट्टी भएपछि उहाँहरुले नै घर पुर्‍याउनु हुन्छ ।’

उक्त ब्लगमा खानको भनाइ समेत उदृत गरिएको छ ।

‘म अनपढ मान्छे हुँ र मैले ज्यालादारी गरेर परिवार पाल्छु’, ब्लगमा खानलाई उदृत गर्दै लेखिएको छ, ‘हाम्रो गाउँमा एकजना पनि महिला डाक्टर छैनन् त्यसैले मेरा छोरीहरुको शिक्षा मेरा लागि सबैभन्दा ठूलो कुरा हो । म उनीहरुलाई छोराझै पढाउन चाहन्छु ।’

उनको यो भनाइबाट खानले आफ्ना छोरीलाई असल, शिक्षित र सक्षम बनाउन चाहन्छन् भन्ने प्रस्ट हुन्छ । अर्थात् उनी आफ्ना ३ जना छोरी नै डाक्टर होऊन् भन्ने चाहन्छन् । खानले गुणस्तर राम्रो भएकाले नुरियाना विद्यालयमा आफ्ना छोरीहरु भर्ना गरेको बताउँछन् ।

स्विडिस कमिटी फर अफगानिस्तानले पक्तिका प्रान्समा सैयौं विद्यालय स्थापना गरेको छ । ती विद्यालयमध्ये अधिकांश विद्यालयमा बालिकाहरु नै पढ्न आउँछन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।