हेटौंडा, १९ मंसिर,यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय अन्तर्गतको एक तेस्रोलिङ्गीले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । बुधबार मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंंबर १२ पदमपोखरीकी सानु थिङले ३१ वर्षको उमेरमा आफ्नो पहिचानसहितको नागरिकता प्राप्त गरेकी हुन् ।

वडाअध्यक्ष ललित घलानको सिफारिस एवम् हेटौंडा उपमहानगरपालिका वडा नंबर ४ का वडाध्यक्ष नविन सिग्देल सहित स्थानीयलाई साक्षी राखी जिल्ला प्रशासन कार्यालय मकवानपुरले थिङको लिङ्ग ‘अन्य’ उल्लेख गरी नागरिकता दिइएको हो । बुबा सूर्यबहादुर थिङ र आमा मंगलमाया थिङको वंशजको आधारमा सानुलाई नागरिकता प्रदान गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत मदन लामा थिङले सानुको नाममा बुधबार नागरिकताको प्रमाणपत्र जारी गरेका हुन् । लिङ्गको आधारमा पुरुष वा महिलालाई मात्र नागरिकता प्रदान गर्दै आइएकोमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको हक संविधानमै उल्लेख भएबमोजिम थिङको लिङ्ग ‘अन्य’ उल्लेख गरी नागरिकता दिइएको हो ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिहरुलाई लिङ्गको महलमा अन्य जनाई जारी गर्ने सम्बन्धी निर्देशिका २०६९ को आधारमा प्रशासनले नागरिकता जारी गरेको हो । यसअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट तेस्रोलिङ्गी अजिता भुजेल र नेहा मानन्धरले पनि आफ्नो पहिचानको आधारमा नागरिकता पाइसकेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।