जाडोको मौसम सुरु भएसँगै स्वास्थ्यमा विभिन्न शारीरिक समस्याहरू देखापर्न थाल्छ । जाडो मौसममा मानिसहरू अत्यधिक खाने, कम शारीरिक परिश्रम गर्ने तथा धेरै सुत्ने गर्छन् । कतिपय मानिस घाममा धेर बस्ने, वा कोठाबाट बाहिर ननिस्किने समेत गर्दछन् । जाडो मौसममा सबैभन्दा धेरै चिसोले रोग प्रतिरोघत्मक क्षमता कम भएका, वृद्ध तथा बालबालिकाहरूलाई सताउने गर्छ । जाडोको समयमा धेरैजसो मानिसहरूमा नाक बन्द हुने, श्वास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने, घाँटीमा समस्या हुने, झाडापखाला तथा निमोनिया जस्ता समस्याहरू देखिने गर्छ ।

साथै, कपालमा चाया पर्ने, छाला सुख्खा हुने तथा शरीर फुस्रो हुने गर्दछ । जाडोको समयमा केहि यस्ता कामहरु छन् जुन स्वास्थ्य रहनका लागि हामीले त्याग्नु पर्ने हुन्छ । जाडोमा धेरै चिसो भएमा धेरै लुगा लगाउने गर्नु हुँदैन । जाडोबाट बच्न अधिकांश मानिस धेरै लुगा लगाउने गर्दछन् । तर, धेरै लुगा लगाउनु जाडोबाट बच्ने राम्रो उपाय होइन । धेरै लुगा लगाउँदा शरीरमा गर्मी हुन्छ र पसिना आउँछ । पसिना आउँदा शरीरलाई झन् चिसो हुन्छ । जाडोमा लुगा लगाउँदा मांसपेशीलाई न्यानो पार्ने ज्याकेट वा स्वीटर लगाए पुग्छ शरीरमा टाँसिने खालको लुगाको प्रयोग गर्नहुँदैन । जाडोमा चिसोबाट बच्नका लागि भन्दै हातमा पञ्जा र खुट्टामा मोजा लगाएर धेरै बेरसम्म राख्नु हुँदैन र लगाएर सुत्नु पनि हुँदैन । हात र खुट्टालाई ढाकेर बस्नुको अर्थ वातावरणीय परिवर्तन स्वीकार गर्न नसक्नु र शरीरलाई अवरोध गर्नु हो । जाडोमा मोजा र पञ्जा लगाएर सुत्दा मुटुबाट जोर्नीमा प्रवाह हुन रक्त सञ्चालनमा प्रभाव पर्नुका साथै जोर्नीमा रगत जम्ने खतरा हुन्छ ।

जाडोमा गर्मी मौसममा जस्तो तिर्खा लाग्दैन भनेर पानी पिउन कम गर्नु हुँदैन । जाडोमा शरीरलाई दैनिक दुई लिटरभन्दा बढी पानीको आवश्यक पर्दछ । शरीरमा पानीको मात्रा कम भएमा डिहाइड्रेसनले मिर्गौला, अपच र पेट दुख्ने लगायतका समस्याहरू आउन सक्छ । जाडो मौसममा अत्यधिक तातो पानी पनि पिउने गर्नु हुँदैन ।

जाडो मौसममा धेरै भोक र निन्द्रा लाग्ने गर्छ । तर, जाडोको मौसममा धेरै खानु र सुत्नु भने हुँदैन । शरीर तताउन भन्दै अत्यधिक मात्रामा माछा मासुजन्य पर्दाथ, बढी चिल्लो र प्रोटिनयुक्त तथा जंक फुडलगायतका खानेकुरा खाने गरिन्छ । तर, खानाको मात्रा बढ्दा र धेरै सुत्दा शरीरमा तौल बढाउनुका साथै अन्य रोगहरू खतरासमेत हुने गर्छ ।

धेरै सुत्दा शरीरमा आलश्यता बढाउनुका साथै काममा समस्या उत्पन्न हुन्छ । जाडोमा शरीरमा फुस्रोपना तथा छाला सुख्खा हुँदा लोसन तथा क्रिमको प्रयोग गर्न सकिन्छ । तर, जाडोमा हेभी खालको मेकअप भने गर्नु हुँदैन । जाडोमा तातो बनाउँछ भनेर कतिपय मानिसहरू रक्सीको, धुम्रपान तथा अन्य नशाजन्य पर्दाथको सेवन गर्ने गर्छन् । तर, यस्ता बानीले शरीरमा अत्यधिक असर पारी दीर्घकालिन रोगहरू निम्त्याउँछ । जाडोमा घाममा बस्नुभन्दा पनि धेरैले हिटर प्रयोग गर्ने गर्छन् । तर, हिटरबाट टाढै बस्नुपर्छ । हिटरबाट निस्कने कार्बनडाइअक्साइड जस्ता हानिकारक ग्यासहरूले स्वास्थ्यमा असर पुर्याइिरहेको हुन्छ । त्यसैले, जाडोमा दिनभर निष्क्रिय भएर बस्नुभन्दा काममा व्यस्त हुने गर्नु पर्छ जसले रक्त सञ्चार तीव्र गरेर शरीरलाई न्यानो पार्ने गर्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।