मंसिर १५- नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले नीतिगत सुधारसँगै मुलुकको अर्थतन्त्र सकारात्मक भएको बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज सेजनले आइतबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा गभर्नर नेपालले नीतिगत सुधार भएपछि पछिल्लो तीन वर्ष आर्थिक सूचकहरु सकारात्मक रहेको बताउनुभयो । उहाँले नीतिगत सुधारसँगै ब्याजदरमा सुहलियत दिंदा समेत उद्योगी व्यवसायीहरुले लगानी बढाउन नसकेको भन्दै प्रश्न समेत गर्नुभयो ।

गभर्नर नेपालले सरकारले उद्योगीहरुलाई कम ब्याजदरमा पुर्नकर्जा र रोजगारी बढाउन सहुलियत ऋण दिएपनि उत्पादन भने बढन नसकेको उल्लेख गर्नुभयो । जसका कारण आर्थिक सूचकहरु सकारात्मक रहेपनि व्यापारघाटा उच्च रहेको गभर्नर नेपालको भनाई छ ।

उहाँले नेपाल राष्ट्र बैंकले सुविधाभोगी क्षेत्रमा ब्याजदर नघटाउने तर निर्यातजन्य उत्पादनमूलक उद्योगका लागि ब्याज सहुलियत दिने नीति लागू गरेको समेत बताउनुभयो । कार्यक्रममा उद्योगी व्यवसायीहरुले मुलुकमा अझैपनि लगानीको वातावरण बन्न नसकेको बताएका थिए । उद्योगीहरुले नीतिगत रुपमा लगानीको वातावरण बनेको भएपनि व्यवहारमा भने लागु हुन नसकेको गुनासो गरेका थिए ।

व्यवसायीहरुले बैंकको ब्याजदर उच्च भएका कारण अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसकिएको समेत बताएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।