मंसिर १३- भारतमा प्याजको मूल्य अस्वाभाविक रुपमा वृद्धि भएपछि ओसारपसारमा समेत चुनौती बढेको छ । प्याज बोकेको एउटा ट्रकबाट लुटेराहरुले बाटोबाटै सबै प्याज गायब पारेपछि ओसारपसारमा समेत चुनौती थपिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रको नासिकबाट ४० टन प्याज बोकेर उत्तर प्रदेशको गोरखपुरतर्फ जाँदै गरेको ट्रक लुटेराहरुको निशानामा परेको हो । लुटेरा समूहले ट्रक नियन्त्रणमा लिइ सबै प्याज लगेका छन् । रित्तो ट्रक फेला परेको र आवश्यक अनुसन्धान भइरहेको स्थानीय प्रहरीले जनाएको छ ।

भारतको दैनिक अखबार हिन्दूस्तान टाइम्सका अनुसार थोक व्यापारी प्रेम चन्दको प्याज बोकेर उक्त ट्रक नासिकबाट हिँडेको थियो । समयमा उक्त ट्रक नपुगेपछि खोजतलास सुरु गरिएको थियो । मध्यप्रदेशको शिवपुरी जिल्लामा बिहीबार रित्तो ट्रक फेला परेको बताइएको छ ।

प्याजको मूल्य बढेका कारण लुटेराहरुले ट्रकबाट प्याज लुटेको हुन सक्ने प्रहरीको अनुमान छ । ट्रकका चालक र सहचालकको अवस्था र उक्त घटनामा उनीहरुको भूमिकाबारे खुलाइएको छैन ।

ट्रक फेला परेको क्षेत्रमा प्याजको बजारमूल्य प्रतिकिलो एक सय भारु रहेको बताइन्छ ।

यस्तै शैलीमा मंसिर पहिलो साता नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट डिजेल लिएर लहान पुगेको ट्याङ्कर लुटेराहरुले नियन्त्रणमा लिएर डिजेल चोरी गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।