हेटौँडा तस्विर/खबरब्रेक

जितेन्द्र दाहाल, हेटौँडा,११ मंसिर । सरकारले सन २०२० लाई पर्यटन वर्षको रुपमा मनाउँदै छ । प्रदेश नंबर ३ को राजधानी हेटौँडापनि पर्यटन वर्षलाई स्वागत गर्न तयारी अवस्थामा रहेको छ । हेटौँडा आफ्नै नेपालको सुन्दर तथा सफा सहरको रुपमा पटक पटक पुरस्कृत भएको सहर पनि हो । यो सहरमा यस्ता भ्यु प्वाईन्ट छन जुन पर्यटकहरुको लागि छोटो अवधिमानै घुमेर अवस्मरणीय बनाउनको लागि महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

एकदिनको समय छुट्याएर तपाई हेटौँडा आउनुभयो भने तपाईले प्राकृतिक सुन्दरताको साथै कला स्कृतीको समेत मज्जा उठाउनसक्नु हुनेछ र केहि ऐतिहाँसिक क्षेत्रको पनि भ्रमण गर्न सक्नुहुनेछ । यि हुन् प्रमुख गन्तब्यहरु:

१. सहिद स्मारक: हेटौँडा उपमहानगरपालिका वडा नंबर ११ मा रहेको सहिद स्मारक नेपालकै नमुना पार्क हो । यहाँ प्रत्येक वर्ष हजारौ आन्तरिक तथा वाह्य पर्यटकहरु घुम्न आउने गर्दछन् । सुन्दर बगैचा, नेपालका विभिन्न ऐतिहाँसिक ब्यक्तित्वहरुको मुर्ति, मिनि चिडियाखाना, वाल उद्यन, पिकनिक स्पट लगाएतले स्मारकलाई मकवानपुरकै पर्यटनको प्रमुख गन्तब्य बनाएको छ । यहाको सहिद टावरलाई दक्षिण यसियाकै उत्कृष्ट मान्ने गरिएको छ ।

२. पुण्य क्षेत्र: स्मारक परिषरबाट करिब आधा घण्टाको पैदल यात्रामा पुगिने पुण्य क्षेत्र पनि पर्यटकहरुको आकर्षणको केन्द्र रहेको छ । भगवान विष्णुको मुर्ती समेत रहेको यहा आश्रम, तथा गुफा समेत रहेको छ । चारैतिर फूलको बगैचाहरु रहेको यहाको वातावरण निकै मनोरम रहेको छ ।

३. भैरबडाँडा: हेटौँडा उपत्यकालाई नजिकैबाट हेर्ने तपाईको इच्छालाई हेटौँडा १ मा रहेको भैरबडाँडाले पुरा गर्छ । भैरबडाँडाबाट लगभग हेटौँडाको सबै क्षेत्र विना दुरबीन प्रयोग नजिकैबाट देख्न सकिन्छ । पाथिभाराको मन्दीर पनि यस क्षेत्रको अर्को आकर्षण पक्ष हो । धार्मीक पर्यटनमा रुची राख्नेहरुको लागि समेत यो क्षेत्र उत्कृष्ट रहेको छ । यहा रहेको मनमोहन स्मृती भ्यु टावरबाट अझ हेटौँडालाई हेर्न सहज हुन्छ ।

४. भुटनदेबी मन्दीर: हेटौँडा भ्रमणसँगै यदि तपाई धर्मकर्ममा समेत रुचि राख्नु हुन्छ भने हेटौँडा वडा नंबर १० मा रहेको भूटनदेबी मन्दीर तपाईको लागि सबैभन्दा उत्कृष्ट गन्तब्य हुन्छ । निकै ऐतिहाँसीक महत्व बोकेको मन्दीरमा १ सय ८ शिवलिंग, विभिन्न भगवानका मन्दीहरु समेत रहेका छन् । शान्त वातावरण रहेको यो क्षेत्र तपाईको लागि निकै महत्वपूर्ण हुनसक्छ ।

५. वनस्खण्डी: हेटौँडाको अर्को महत्वपूर्ण पार्क तथा धार्मिक क्षेत्रको रुपमा रहेको वनस्खण्डी पनि पर्यटकको रोजाईको महत्वपूर्ण भ्यु प्वाईन्ट हो । पिकनिक स्पट, बगैचा तथा मन्दीर रहेको यो क्षेत्र सामुदायिक वन क्षेत्रमा पर्दछ ।

६. कुष्माण्डप सरोबर त्रिवेणी धाम हेटौँडाको रापती खोला, कर्रा खोलाको संगमस्थलमा रहेको त्रिवेणी धाममा पछिल्लो सयम पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । १ सय ८ धारा सहित विभिन्न धार्मिक मठमन्दीर रहेको यहा पोखरीमा डुंगा सयरको समेत ब्यवस्था रहेको छ ।

७. पुष्पलाल पार्क: पार्क नै पार्कको सहरको रुपमा रहेको हेटौँडाको अर्को महत्वपूर्ण भ्यु प्वाइन्टको रुपमा रहेको पुष्पलाल पार्क पनि हो । ओम शान्ति आश्रमले ब्यवस्थापन गरिरहेको पार्कमा पनि फोटो खिच्न र केहि समय विताउँदै पार्कमा रहेको पोखरीमा डुंगा सयरको लागि निकै आनन्ददायक हुने गर्दछ ।

८. माछा प्लान सरकारी स्वामित्वमा रहेको मत्य विकास केन्द्र पनि हेटौँडाको महत्वपूर्ण भ्यु प्वाईन्ट हो । अझ यहा सडक छेउमा हेटौँडा उपमहानगरपालिकाले बगैचा निर्माण गरि पर्यटक बस्ते स्थल समेत निर्माण गरेपछि यहा प्रत्येक दिन साँझपख भिड लाग्ने गर्दछ । दर्जनभन्दा धेरै माछा पोखरी रहेको स्थान फोटो खिच्नको लागि निकै लोकप्रिय हुँदै आएको छ ।

९. गुम्बा डाँडा हेटौँडा उपमहानगरपालिकाको पुर्वी क्षेत्र हर्नामाणीमा रहेको गुम्बाडाँडा अर्को महत्वपूर्ण पार्क हो । यहा विश्वका दर्जन बढि कलाकारहरुले कुँदेका ढुंगाका कलाकृतीहरु रहेका छन भने फूल बगैचा, पिकनिक स्पटहरु रहेक छन् । यि बाहेक हेटौँडा उपमहानगरपालिकामा नपरेपनि एकै दिनमा मकवानपुरगढीमा रहेको दरबार, मनकामना मन्दीर तथा भीमफेदी गाउँपालिकामा रहेको त्रिखण्डीलाई समेत थप गर्दै एकदिनको प्याकेज बनाएर तपाईले पर्यटनको खुब मज्जा उठाउन सक्नुहुनेछ ।

अब के गर्ने त ?
सरकारले पर्यटन वर्ष घोषणा गरेपनि मकवानपुरमा भने पर्यटन ब्यवसाय भने खासै फस्टाउन सकेको छैन् । मकवानपुरमा पर्यटनको प्रचुर संभावना रहँदा पनि पर्यटनलाई मकवानपुरका ब्यवसायीहरुले पर्यटनलाई ब्यवसायको रुपमा सञ्चालन गर्न सकेका छैनन् भने यहाको स्थानीय सरकारले पनि पर्यटनलाई महत्वपूर्ण मानेपनि ब्यवसायीक रुपमा अगाडी बढाउन सकेको छैन् । मकवानपुर जिल्लालाई नेपालकै प्रमुख गन्तब्य बनाउनको लागि यहाका ब्यवसायीहरु तथा सरकारनै लाग्नु पर्ने देखिन्छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।