(भानुभक्त आचार्य, प्रहरखरब डटकम)

हेटौंडा – हेटौंडा–३ बसामाडीमा स्थानीयले बिमानस्थल निर्माण गर्न प्रदेश सरकारसमक्ष माग गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं ३ को पूर्बपशिचम राजमार्गको दक्षिणतिर रहेको करिब ३ सय बिगाहा जमिनमा आन्तरिक बिमानस्थल निर्माण सम्भाव्यता अध्ययन गर्न स्थानीयले प्रदेश सरकारसमक्ष माग गरेका हुन् । प्रदेश राजधानीमा बिमानस्थलको आवश्यक रहेको र यसका लागि बसामाडीको खाली जमिन उपयोगी हुने स्थानीयको भनाई छ ।

राप्तीखोलाको किनारामा रहेको बगर क्षेत्रलाई तटबन्ध गरी बिमानस्थल निर्माण गर्न उपयुक्त देखिएको खण्डमा प्रक्रिया अगाडि बढाउन स्थानीयले माग गरेका हुन् । मुख्यमन्त्री डोरमणि पौडेल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालगायतको टोलीले पटकपटक सो क्षेत्रको अवलोकन गरेको हेटौंडा उपमहानगरपालिका–३ का वडाअध्यक्ष रामकुमार पुडासैनीले बताए ।

हेटौंडा नगर आसपासका क्षेत्रमा खेतीयोग्य जमीन नभएको बिज्ञहरुले पटकपटक बताएका छन् । राप्ती खोलाको किनारामा रहेको खाली जमीनलाई सुधार गरी बिमानस्थल बनाउन उपयुक्त हुने देखिएका कारण सम्भाव्यता अध्ययन गर्न माग गरिएको वडाअध्यक्ष पुडासैनीले जानकारी दिए । खाली रहेको जमिन उपयोग गर्नका लागि स्थानीयबासीले प्रदेश सरकारसमक्ष पहल सुरु गरेको र प्रदेश सरकार यसमा सकारात्मक रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले बताए ।

बसामाडी क्षेत्रका स्थानीयबासी, राजनीतिक दल, नागरिक समाजसँग बसेर छलफल चलाउने तयारी भइरहेको वडाअध्यक्ष पुडासैनीले जानकारी दिए । बसामाडीस्थित बालउज्ज्वल मावि व्यवस्थापन समितका अध्यक्ष मीनबहादुर अधिकारीले बसामाडीमा बिमानस्थल स्थापना गर्ने प्रस्ताव सकारात्मक रहेको बताए ।

बसामाडीको राप्तीकिनाराको बगरमा बलियो तटबन्ध गर्ने हो भने राजमार्गको पहुँचको हिसावले पनि बिमानस्थल निर्माण गर्न उपयुक्त देखिएका बालउज्ज्वल माविका प्रधानाध्यापक शम्भु बर्तौलाले जानकारी दिए । प्रदेश सरकारको टीमले पटकपटक सो क्षेत्रको निरीक्षण गरेको पनि प्रअ बर्तौलाले जानकारी दिए ।

राप्ती खोलाको दायाँबायाँ क्षेत्रमा टतबन्धन गर्नका लागि नारायणी नदी व्यवस्थापन आयोजनाले सम्भाव्यता अध्ययन गरिरहेकोले पनि योजमिनको पूरापुर उपयोग गर्न सकिने वडाअध्यक्ष पुडासैनीले जानकारी दिएका छन् । बाढी आउने समयमा राप्ती खोलाको बहावका लागि आवश्यक स्थान राखेर तटबन्ध निर्माण गरी राप्तीको बगरलाई भरपुर उपयोग गर्न सकिने पुडासैनीको धारणा छ ।

बसामाडीमा बिमानस्थल निर्माण गर्न सकेको खण्डमा प्रदेश–३ को राजधानीमा पनि सबैखाले सेवासुबिधाको पहँुच हुने वडाअध्यक्ष पुडासैनीले बताए । राप्तीखोलाको बगरको रुपमा उपयोग बिहिन अवस्थाको जमीनलाई सुधार गरेर उपयोग गर्नका लागि प्रदेश सरकारले पहल सुरु गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रकाश दाहालले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।