मंसिर ३- फेसबुकलाई चुनौति दिने गरी नयाँ सामाजिक संजाल ‘डब्लूटीः सोसल’ आएको छ। विकिपीडियाका संस्थापक जिमी वेल्सले यो नयाँ संजाल ल्याएका हुन्।

उनले ट्वीट गर्दै नयाँ संजाल ल्याएको जानकारी दिएका छन्। यो आएको तीन दिनमै दुई लाखभन्दा बढी सदस्य भएको उनले बताएका छन्।

यसले फेसबुकलाई चुनौति दिने उनको विश्वास छ। फेसबुक जस्तै डब्लूटीः सोसलमा पनि पोस्ट गर्न सकिनेछ। यसमा विज्ञापन भने नदेखिने उनले बताएका छन्। ‘यो सामाजिक सञ्जालले कहिल्यै आफ्ना प्रयोगकर्तासँग सम्बन्धित तथ्याङ्क नबेच्ने र विज्ञापनबाट नभई व्यक्तिगत चन्दादाताको उदारतामा भर पर्नेछ,’ जिमीले भनेका छन्।

यो समाचार केन्द्रीय हुने जनाएको छ। त्यस्तै, यसको शीर्षक प्रयोगकर्ताले नै सच्याउने सक्ने व्यवस्था गरिएको छ। यसमा पनि फेसबुकमा जस्तै नयाँ सदस्य बनाउन सकिनेछ। सदस्यहरुले सेयर गरेका नयाँ समाचार तथा सामग्री देख्न सकिनेछ।

तर, यसका प्रयोगकर्ताले शुल्क तिर्नुपर्नेछ। अहिलेलाई मासिक १३ अमेरिकी डलर शुल्क राखिएको जनाएको छ।

सन् २०१७ मा जिमीले क्राउडसोर्सिङका आधारमा चलाउने गरी विकिट्रिब्यून साइट संचालनमा ल्याएका थिए। जसमा गलत समाचारको खण्डन गर्न थालिएको थियो। तर, गत वर्ष व्यवसायिक पत्रकारहरु बाहिरएपछि प्रभावकारी बन्न सकेको छैन।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।