file photo

मंसिर ३ – मोरङको जहदा गाउँपालिका १ का कार्यबहाक वडाध्यक्ष उमेशकुमार साह घुस रकमसहित मंगलबार दिउँसो पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले २१ हजार रुपैयाँ घुससहित साहलाई वडा कार्यालय परिषरबाट रंगेहात पक्राउ गरेको हो ।

अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले सडक स्तरोन्नतीको योजना सम्झौता गर्ने क्रममा साहले घुस मागेको आरोपमा पक्राउ गरेको बताए । ‘सडक स्तरोन्नती गर्नलाई गाउँपालिकाले दुई लाख रुपैयाँ छुट्याइएको रहेछ , उनले भने, ‘त्यही योजनाको सम्झौता गरे वापत घुस लिँदै गर्दा कार्यबहाक वडाध्यक्ष साहलाई पक्राउ गरिएको हो।’

ढकालकाअनुसार योजना सम्झौता गर्न भनेर आएको पक्षसँग साहले १० प्रतिशत घुस मागेका थिए । सोमबार नै हुनुपर्ने सम्झौता एक दिनपछि मंगलबार भएका कारण साहले थप एक हजार रुपैयाँ माग गरेको पाइएको उनको भनाइ छ ।

ढकालले साहमाथि कारबाही अघि बढाउन आवश्यक अनुसन्धान थालिएको जानकारी दिए । जहदा गाउँपालिका १ का वडा अध्यक्ष प्रदीप यादव विराटनगर महानगरपालिका १४ का समानन्द मण्डलको हत्या अभियोगमा फरार छन् ।

गत जेठ ३२ गते कुटपिट गरिएका समानन्दको असार २७ गते मृत्यु भएको थियो । मृतकका परिवारले वडा अध्यक्ष प्रदीप विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । त्यही घटनाका कारण वडाध्यक्ष फरार भएपछि वडा सदस्य साहलाई कार्यबहाक वडाध्यक्षको जिम्मेवारी दिइएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।