मंसिर ३- बैंकमा ऋण लिन जाँदै हुनुहुन्छ, भने एक पटक सबै बैंकको आधार दर बुझ्नुहोस्।

किनकि बैंकले लिने ऋणको व्याज आधार दरमा निर्भर रहन्छ। सामान्यतः जुन बैंकको आधार दर कम हुन्छ, त्यो बैंकको ऋण पनि सस्तो पर्न जान्छ। पछिल्लो समय बैंकहरुको आधार दर घट्दै गएको छ।

सञ्चालनमा रहेका २८ मध्ये १५ वटा बाणिज्य बैंकहरुको आधार ब्याज दर एकल अंकमा झरेको छ। गत असारको तुलनामा असोजमा तीन बैंकले आधार दर घटाएका छन्।
बाँकी बैंकको आधार दर दोहोरो अंकमा छ। असार मसान्तमा चार बैंकको आधार दर एकल अंकबाट उक्लिएर दोहोरो अंकमा पुगेको छ। आधार दर कम भएको बैकमा सर्वसाधारणले तुलनात्मक रुपमा कम ब्याजमा ऋण पाउँछन्।

सबैभन्दा सस्तो आधार दर राष्ट्रिय बाणिज्य बैंकको छ, तर बैंकको आधार दर पछिल्लो तीन त्रैमासको तुलनामा उच्च छ। बैंकले १.१ प्रतिशत बिन्दुले आधार दर बढाएको छ। गत असार मसान्तमा बैंकको आधार दर ५.५ प्रतिशत थियो अहिले बढेर ६.६ प्रतिशत पुगेको छ।

यसपछि आधार दर स्ट्यान्डर्ड चार्टर्ड बैंकको कम छ। बैंकको ७.६३ प्रतिशत छ। यसैगरी नेपाल बैंकको ७.८४, नबिलको ७.९४, नेपाल इन्भेष्टमेन्ट बैंक ८.४८, एभरेष्ट ८.५२ र हिमालयन ८.९३ प्रतिशत छ।

निरन्तर आधार दर घटाउनेमा चार्टर्ड, सानिमा, प्रभु, ग्लोबल आइएमइ, प्राइम, सनराइज, लक्ष्मी, सेञ्चुरी र सिभिल बैंक छ। सिभिलको आधार दर विगतको भन्दा घटेपनि सबैभन्दा उच्च छ। बैंकको आधार दर ११.११ प्रतिशत छ। उभन्दा एक तह कम रहेको एनसिसी बैंकको १०.७७ प्रतिशत छ।

असार मसान्तको तुलनामा असोज ससान्तमा १३ वटा बैकको आधार दर घटेको छ। सबैंभन्दा बढि सेञ्चुरी बैंकले आधार दर घटाएको छ। चार्टर्ड र सिभिलको भने स्थिर छ। बाँकी बैंकको आधार दर बढेको छ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।