एजेन्सी,अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कालोनीले अब आफ्नो टोलीलाई हराउन मुस्किल हुने बताएका छन् । उरुग्वेसँगको बराबरीपछि पत्रकारसँग बोल्दै उनले अब अर्जेन्टिनालाई हराउन मुस्किल रहेको बताए । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा उरुग्वेसँग बराबरीमा रोकिएपछि उनले आफ्नो टोलीको प्रदर्शनबाट आफू सन्तुष्ट भएको बताए । सोमबार राति भएको उक्त खेलमा अर्जेन्टिना र उरुग्वेले २–२ गोलको बराबरी खेलेका हुन् । इजरायलको टेल एभिभस्थित ब्लुमफिल्ड स्टेडियममा भएको सो खेलमा उरुग्वेले सुरुआती अग्रता बनाएको थियो । इडिन्सन काभानीले खेलको ३४ औं मिनेटमा गोल गर्दै पहिलो हाफभरि उरुग्वेलाई अग्रता दिलाए । खेलको ६३औं मिनेटमा सर्जियो अगुएरोको गोलमा अर्जेन्टिना १–१ गोलको बराबरीमा फर्कियो ।

खेलको ६८औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै उरुग्वेलाई पुनः अग्रता दिलाए । तर, खेलको इन्जुरी समयमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो, जसमा कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई हारबाट जोगाए । र, खेल २–२ गोलको बराबरीमा सकियो । खेलपछि बोल्दै प्रशिक्षक स्कालोनीले भने, ‘हामीले साबित गर्दै आएका छौं कि हामीमा अब सुधार आउँदैछ । यो नतिजाबाट के स्पष्ट हुन्छ भने हामी ठीक छौं । यो खेलको स्तरबाट थाहा हुन्छ हामी सुधारका क्रममा छौं । हामीसँगको यो टिम उत्कृष्ट छ ।’

‘यो महत्त्वपूर्ण छ कि, हाम्रा खेलाडीहरूले धेरै राम्रो खेले’, उनले थपे, ‘मलाई लाग्छ अब हामी लायक भैसक्याैँ । अब हामीले यो सोच्ने बेला आएको छ भि हामी के–के गर्न सक्छौं । आउँदै गरेको अफ्ठेरोलाई कसरी निम्ट्याउन सक्छौं ।’ यस्तै उनले आफूहरू दक्षिण अमेरिकामा मात्र नभएर विश्वकै सबैभन्दा गाह्रो टोली भएको बताए । उनले भने, ‘मैले उरुग्वेका मानिससँग कुरा गरेको थिएँ । मैले उनीहरूलाई हामी दक्षिण अमेरिकामा मात्र नभएर विश्वमा नै सबैभन्दा मुस्किल टोली बनिसकेका छौं र अब हामीलाई हराउन मुस्किल छ भनिसकेको छु । हामीसँग एक राम्रो आधार छ ।’

दक्षिण अमेरिकी फुटबलमा विकसित राष्ट्रद्वय अर्जेन्टिना र उरुग्वेबीचको यो भेट १ सय ९८औं भेट थियो । यी दुई टोली पछिल्लो पटक सन् २०१७ को सेप्टेम्बरमा आमनेसामने भएका थिए । विश्वकप छनौटको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो । यस्तै त्योभन्दा अघिल्लो खेलमा भने अर्जेन्टिनाले जित निकालेको थियो । २०१६ को सेप्टेम्बरमा भएको विश्वकप छनौटकै खेलमा अर्जेन्टिनाले उरुग्वेविरुद्धको १–० गोलको जित निकालेको हो । त्यसअघि सन् २०१५ मा कोपा अमेरिकाको दौरान पनि अर्जेन्टिनाले १–० जित निकालेको छ । त्यसअघिको विश्वकप क्वालिफिकेसमा उरुग्वेले ३–२ गोलको जित निकालेको छ । उक्त खेल सन् २०१३ मा भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।