भूकम्पको क्षेती /साङ्केतिक तस्वीर

हेटौंडा, २ मंसिर,भूकम्पले क्षति भएको निजी आवास पुननिर्माणको लागि पहिलो किस्ताबापतको रकम बुझेका लाभग्राहीको तुलनामा तेस्रो किस्ता लिने लाभग्राहीको संख्या अत्यन्त न्यून देखिएको छ । पहिलो किस्ता लगेको वर्षौ बित्दा पनि दोस्रो र तेस्रो किस्ता नलिने लाभग्राहीको संख्या धेरै रहेको छ । कामको प्रगतिको आधारमा दोस्रो र तेस्रो किस्ताबापतको रकम दिने गरिएकोमा मकवानपुरमा पहिलो किस्ता लिएर घर नै नबनाई सम्पर्कबिहीन हुने गरेका छन् ।

राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय मकवानपुरका अनुसार जिल्लाका ३४ हजार तीनसय १६ कुल लाभग्राहीमध्ये २७ हजार आठसय ३४ लाभग्राहीसँग सम्झौता भएको थियो । सम्झौता भएकोमा २६ हजार एकसय ७१ लाई सरकारले र एकहजार चारसय ४५ लाभग्राहीलाई गैरसरकारी सस्ंथाहरुले गरि कुल २७ हजार ६ सय १६ लाभग्राहीले प्रथम किस्ता लिएर गएको कार्यालयका ईञ्जिनियर रबिन पाठकले जानकारी दिए । यो सम्झौता भएको कुल लाभग्राहीको ० दशमलव ४ प्रतिशत हो ।

त्यस्तैगरी प्रथम किस्ता लगेकाबाट सरकारबाट २० हजार पाँचसय ९० र गैरसरकारी सस्ंथाबाट एकहजार तीनसय ३ गरी कुल २१ हजार नौसय ७३ लाभग्राहीले दोस्रो किस्ताको रकम लिएर गएका छन् । यो पहिलो किस्ताको लाभग्राहीको ६४ दशमलव ३ प्रतिशत मात्रै हो । त्यसबाट पनि घटेर तेस्रो किस्ता लाने लाभग्राहीको संङ्ख्या १६ हजार सातसय ८१ मात्रै रहेका छन् । जसमा सरकारबाट १५ हजार चारसय ४४ र एकहजार तीनसय ३६ लाभग्राहीले गैरसरकारी सस्ंथाबाट किस्ता बुझेका छन् । यो दोस्रो किस्ताको ४ दशमलव ९ प्रतिशत हो ।  माथिको तथ्यांकलाई हेर्दा कुल लाभग्राहीको संख्याबाट नै क्रमश घट्दै आएको देख्न सकिन्छ । ३४ हजार तीनसय १६ लाभग्राहीबाट सम्झौता हुँदासम्म ६ हजार चारसय २ लाभग्राही घटेको पाइएको छ । त्यस्तै सम्झौता भएकाबाट पहिलो किस्ता लिँदासम्म दुईसय १ लाभग्राही घटेका छन् । पहिलो किस्ताबाट दोस्रो किस्तासम्म पुग्दा पाँचहजार ६ सय ४३ लाभग्राही घटेका छन् भने अन्तिम अर्थात तेस्रो किस्ता लिदासम्म दोस्रो किस्ताबाट पनि पाँचहजार एकसय ९२ लाभग्राही घटेका छन् ।

सुरुदेखि अन्तिमसम्म हेर्ने हो भने कुल लाभग्राहीबाट तेस्रो किस्तासम्म आईपुग्दा १७ हजार पाँचसय ३५ लाभग्राही घटेको पाइएको छ । जसकारण भूकम्प गएको ४ वर्ष बितिसक्दा पनि मकवानपुरका कुल लाभग्राहीमध्ये १४ हजार एकसय ३५ लाभग्राहीको मात्रै घर पुर्ननिर्माणको काम सम्पन्न भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।