मंसिर २ – यतिबेला काठमाडौंमा छायांकन भइरहेको चलचित्र ‘हिजो आजका कुरा’मा पाँच जना नायिकाहरूले अभिनय गरिरहेका छन् । नेपाली चलचित्रमा एक दुई जना नायिका हुने गरेकोमा यो चलचित्र नायिका प्रधान देखिएको छ ।

यो चलचित्रमा अभिनय गरिरहेका पाँच नायिका केकी अधिकारी, ऋचा शर्मा, रिमा विश्वकर्मा, जेबिका कार्की र अनुष्का अधिकारी रहेका छन् । यी पाँच नायिका अहिले यो फिल्ममा आपसमा प्रतिस्पर्धी रूपमा काम गरिरहेका छन् ।

हास्यप्रधान कार्यक्रम कमेडी सर्कसकी निर्माता केकी अधिकारीले चलचित्र हिजो आजका कुरामा हास्यप्रधान भूमिका निभाउँदै छिन् । यसमा आफ्नो मुख्य भूमिका भएको र आफूलाई दिएको भूमिका निकै मन परेका कारण यो चलचित्रमा काम गरेको बताएकी छन् । केकीको हालै रिलिज भएको फिल्म ६ माया छपक्कै सफल भएको छ ।

यो फिल्मकी अर्की मुख्य नायिका ऋचा शर्माले पनि सन्तोष पन्तले आफूलाई यो चलचित्रमा राम्रो भूमिका दिएका कारण काम गरेको बताएकी छन्, ‘फिल्ममा विभिन्न फरकफरक परिवारको कथा छ र सबै कलकार प्रभावशाली छन् ।’ सोही कारण आफूले यसमा काम गरेको उनले बताइन् । उनी पनि कमेडी सर्कसकी निर्णायक हुन् । वरिष्ठ कलाकार सन्तोष पन्त र ऋचा दुवै जना कमेडी सर्कसको निर्णायकका रूपमा पनि सँगै काम गरिरहेका छन् ।

अभिनेत्री रिमा विश्वकर्मा पनि अहिले हिजो आजका कुराको छायांकनमा व्यस्त छिन् । आफूले नेपाल आइडलको होस्ट छाडेको र राम्रो भूमिका भएका कारण यो फिल्ममा अनुबन्धित भएको उनले बताएकी छन् ।

आफू स्टेन्डप कमेडीसम्बन्धी कार्यक्रम ‘कमेडी सर्कस’को होस्टमा अनुबन्धित भएकाले नेपाल आइडल छाडेको पनि उनले स्पष्ट पारेकी छन् । कमेडी सर्कलकै निर्णयक तथा वरिष्ठ कलाकार निर्देशक सन्तोष पन्तले प्रस्ताव गरेपछि यो चलचित्रमा काम गरेको रिमाको भनाइ छ । आफ्नो भूमिका यो चलचित्रमा निकै राम्रो भएको रिमाले दाबी गरेकी छन् ।

समयको चर्चित हास्यव्यंग्य समसामयिक टेली चलचित्र ‘हिजो आजका कुरा’लाई सन्तोष पन्तले अहिले चलचित्रको रूपमा निर्माण गरिरहेका छन् । यो फिल्मको बाँकी दुई नायिका जेविका कार्की र अनुष्का अधिकारी हुन् । जेविका र अनुष्काले पनि यो यो फिल्ममा आफूहरूको भूमिका निकै राम्रो भएको दाबी गरेका छन् । जेविका र अुनष्का दुवै नयाँ पुस्ताका नायिका हुन् । टिक टकमा हिट भएर केही वेज सिरिज खेलेकी अनुष्काको हिजो आजका कुरा पहिलो फिल्म हो । जेविकाले यसअघि जन्मभूमिलगायतका केही फिल्म खेलिसकेकी छन् । केकी, ऋचा, रिमासँग यी दुई नायिकाले यो चलचित्रमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यो चलचित्रको अहिले काठमाडौंमा छायांकन भइरहेको छ । काठमाडौंपछि चितवनको सौराहालगायतको स्थानमा छायांकन गरिने पनि निर्देशक पन्तले जानकारी गराएका छन् । चार दिनअघि पशुपतिमा मुहुर्त गरेर यो चलचित्रको छायांकन सुरु गरिएको हो ।

यो चलचित्र मुख्य कलाकार एवं निर्माता सन्तोष पन्तका अनुसार फिल्मकी मुख्य चरित्रमा रमा थपलिया छिन् । बाँकी पाँच नायिका पनि उत्तिकै दाह्रो भूमिकामा भएको पनि पन्तले राजधानीलाई बताए ।

यो चलचित्रको निर्देशन सन्तोष पन्तकै छोरा साकार पन्तले गरिरहेका छन् । हास्य टेलिशृंखला हिजोआजका कुराका बाल कलाकारका रूपमा लोकप्रियता हासिल गरेका साकार अहिले चलचित्र हिजोआजका कुरामा अभिनेताका रूपमा समेत प्रस्तुत हुँदै छन् । हरेक नायिकाहरूको यो फिल्ममा फरकफरक र सशक्त भूमिका भएको साकारले बताएका छन् ।

सन्तोष पन्तले निर्माण गर्ने यो फिल्मको सहनिर्मातामा वैकुण्ठप्रसाद उपाध्याय घिमिरे छन् । यो चलचित्रलाई आगामी १२ वैशाखमा सिनेमा हलमा रिलिज गरिने भएको छ । फिल्मका निर्माण व्यवस्थापनमा सुवास काफ्ले छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।