सन् २०२० मा हुने युरो कप छनौटअन्तर्गत साबिकको विजेता पोर्चुगलले जित निकालेको छ । आइतबार राति भएको खेलमा पोर्चुगलले लक्जम्बर्गविरुद्ध २–० गोलको जित निकालेको हो । लक्जम्बर्गको घरेलु मैदानमा भएको उक्त खेलमा पाहुना टोली पोर्चुगललाई जिताउन ब्रुनो फर्नान्डेस र कप्तान क्रिस्टियानो रोनाल्डोले समान एक–एक गोल गरे । पोर्चुगलले खेलको ३९औं मिनेटमा सुरुआती अग्रता बनाएको थियो । ३९औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै उसलाई सुरुआती अग्रता दिलाए । उनले बर्नान्डो सिल्भाको पासमा गोल गर्दै पहिलो हाफभरि १–० गोलको अग्रता बनाए ।

यस्तै खेलको ८४औं मिनेटमा स्टार खेलाडी रोनाल्डोले गोल गर्दै टोलीलाई जित दिलाए । रोनाल्डोले राष्ट्रिय टोलीका लागि आफ्नो ९९औं गोल गरेका हुन् । रोनाल्डोले १ सय ६४ खेलमा ९९औं गोल गरेका गरेका हुन् । अब रोनाल्डो १०० गोलको काेसेढुंगाबाट एक गोलले मात्र पछि छन् । यस्तै उनी अली डाईको १ सय ९ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान नजिक पुगेका छन् । इरानी अली डाईले १ सय ४९ खेलबाट १ सय ९ गोल गरी सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी बनाएका थिए । अब रोनाल्डो अलीको कीर्तिमानी भेट्टाउन १० गोलले मात्र पछि छन् । रोनाल्डो अघिल्लो खेलबाट युरोपियन च्याम्पियनसिप क्वालिफायर्सका सर्वाधिक गोल कर्ता बनेका थिए । ३४ खेल खेलेका उनले ३० गोल गर्दै सर्वाधिक गोलकर्तामा नाम लेखाएका हुन् ।

जितसँगै पोर्चुगल युरो कपमा छनौट भएको छ । सन् २०१६ को विजेता पोर्चुगल समूह ‘बी’को उपविजेता हुँदै युरो कपमा छनोट भएको हो । उक्त समूहको विजेता हुँदै युक्रेन यसअघिनै छानिइसकेको छ । यद्यपि, पोर्चुगल ६ महिनअघि नै सेमिफाइनालिस्ट–टिम विजेताको हैसियतमा युरो कपमा छनौट भइसकेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।