२ मंसिर,नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कासहित ७ खेलाडी पाकिस्तान सुपर लिग (पीएसएल) टी–२० फ्रेन्चाइज क्रिकेटको ड्राफ्टमा समावेश भएका छन् । आगामी वर्ष २०२० को पीएसलको सिल्भर क्याटागोरी अर्थात् विदेशी खेलाडीको ड्राफ्टमा ७ नेपाली क्रिकेटर पर्न सफल भएका हुन् ।

यसरी ड्राफ्टमा पर्नेमा पूर्वकप्तान पारस, उपकप्तान दीपेन्द्रसिंह ऐरी, विकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी, ब्याट्सम्यानहरू आरिफ शेख, रोहितकुमार पौडेल तथा शरद भेषवाकर र बलर सोमपाल कामी छन् । सिल्भरमा परेका खेलाडीको न्युनतम मुल्य १५ हजार अमेरिकी डलर देखि अधिकतम मूल्य ३५ हजार डलर रहेको छ ।

योसँगै पीएसएलको ड्राफ्टमा नेपालका आठ खेलाडी अटाएका छन् । यसअघि नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने ड्राफ्टमा परेका थिए । उनी ‘प्लाटिनम’ श्रेणीको ड्राफ्टमा परेका हुन् । प्लाटिनमको मूल्य भने न्यूनतम १ लाख ४७ हजार अमेरिकी डलर र अधिकतम २ लाख १८ हजार डलर रहेको छ । ड्राफ्ट डिसेम्बरको पहिलो साता हुनेछ । एक टिमले पाँच जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउने छन् ।

आगामी फेब्रुअरीमा पाकिस्तानमा हुने तय पिएसएलमा लाहोर क्वालन्डर्स, इस्लामावाद युनाइटेड, कराची किङ्ग्स, मुल्तान सुल्तान्स, पेशावर जल्मी र क्वेटा ग्लाडियर्टसले प्रतिस्पर्धा गर्ने छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।