एसीसी इमर्जिङ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई १ सय ३९ रनको सामान्य लक्ष्य दिएको छ।

नेपालले ४४.३ ओभरमा सवै विकेट गुमाएर १ सय ३८ रन बनायो। नवौं विकेटका लागि सोमपाल कामी र करण केसीले ५० रनको साझेदारी गरेपछि नेपाल सो स्कोरमा पुगेको हो। करणले ४७ बलमा १ चौका र १ छक्कासहित १८ रन जोडे।

सोमपाल कामी नेपालबाट सर्वाधिक स्कोरर रहे। उनले ३८ रन जोडे। ६३ बल खेलेका उनले ४ चौका प्रहार गरे।

त्यसअघि नेपालका ओपनरद्धय कुशल भुर्तेल र ज्ञानेन्द्र मल्लले ३३ रनको साझेदारी गरेका थिए। अघिल्ला दुई खेलमा खाता नै खोल्न नसकेका कप्तान ज्ञानेन्द्रले यस खेलमा २२ रन जोडे।

यस्तै कुशल भुर्तेलले १०, शरद भेषावकरले १, दीपेन्द्रसिंह ऐरीले ६, आरिफ शेखलले ११, पवन सर्राफले ९ तथा विनोद भण्डारीले ८ रन जोडे। सन्दीप जोराले खाता नै खोल्न सकेनन्।

समूह बीमा रहेको नेपाल तालिकाको तेस्रो स्थानमा छ। नेपालले यसअघि भारतसँग पराजित भएको थियो भने हङकलाई पराजित गरेको थियो।

एसीसी इमर्जिङ कपमा आयोजक बंगलादेशसँगै नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान, हङकङ, ओमान, श्रीलंका र यूएईले सहभागिता जनाएका छन्।

टेस्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानको यू–२३ टोलीको सहभागिता रहेको छ भने त्यसबाहेकका देशको सिनियर टोलीले भाग लिएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।