मंसिर १ – नेपाल भ्रमणमा रहेका चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुल्करले प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन्। आइतबार बिहान पशुपतिको दर्शन गरेका सचिन दिउँसो प्रधानमन्त्रीलाई भेट्न सरकारी निवास बालुवाटार पुगेका हुन्।

संयुक्त राष्ट्र संघबाट बालअधिकार सम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पुगेको उपलक्ष्यमा यूनिसेफ नेपालको कार्यक्रममा सहभागी हुन आएका सचिन प्रधानमन्त्रीलाई भेट गर्न पुगेका हुन्।

महान भारतीय क्रिकेटर सचिन यूनिसेफको दक्षिण एसिया क्षेत्रका सद्भावना राजदूत पनि हुन्। शनिबार त्रिवि क्रिकेट मैदानमा बालबालिकाको लागि आयोजना गरिएको कार्यक्रमका आकर्षण केन्द्र सचिन बनेका थिए।

४६ वर्षीय सचिन कार्यक्रममा सहभागी हुन शुक्रबार राति नेपाल आइपुगेका हुन्। प्रधानमन्त्रीसँगको भेटमा प्रधानमन्त्री ओलीले सचिनले बाल अधिकारको संरक्षणको क्षेत्रमा गरेको कामको प्रशंसा गरेका छन्। प्रधानमन्त्री ओलीले ट्विटरमार्फत् सचिनसँगको भेटका तस्बिर सार्वजनिक गरेका छन्।

सचिनले शनिबार नेपालमै आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यलाई पनि विभिन्न सुझाव दिएका थिए। सचिन आइतबार नै भारत फर्किदै छन्।

सन् २०१३ मा सक्रिय खेल जीवनबाट सन्न्यास लिएका सचिनको नाममा अझै पनि विश्व क्रिकेटका थुप्रै कीर्तिमान कायमै छन्।

उनी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक सतक प्रहार गर्ने खेलाडी हुन्। उनले टेस्टमा ५१ र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४९ वटा सतक हिर्काएका छन्। अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान पनि सचिनकै नाममा छ। उनले टेस्टमा १५ हजार नौ सय २१ र एकदिवसीयमा १८ हजार चार सय २६ रन बनाएका छन्।

उनी सर्वाधिक विश्वकप खेल्ने खेलाडी पनि हुन्। सचिन र पाकिस्तानका जाभेद मियाँदादले ६ वटा विश्वकप खेलेका छन्। एकदिवसीय क्रिकेटमा सर्वाधिक प्लेयर अफ दि सिरिज हुने खेलाडी पनि सचिन नै हुन्। उनी १५ पटक प्लेयर अफ दि सिरिज घोषित भएका छन्।

सचिन एकदिवसीय क्रिकेटमा दोहोरो सतक प्रहार गर्ने पहिलो खेलाडी पनि हुन्। उनी एउटै विश्व कपमा सर्वाधिक अर्धसतक प्रहार गर्ने खेलाडी पनि हुन्। सचिन र बंगलादेशका सकिब अल हसनले एउटै विश्वकपमा सात अर्धसतक हिर्काएको रेकर्ड छ।

यसैगरी एउटै विश्वकपमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि सचिनकै नाममा छ। उनले सन् २००३ को विश्वकपमा ११ पाली खेल्दै कुल ६ सय ७४ रन बनाएका थिए। एउटै विश्वकपमा सर्वाधिक चौका हिर्काउने खेलाडी पनि हुन्, सचिन। उनले सन् २००३ कै विश्वकपमा ७५ वटा चौका हिर्काएका थिए। विश्वकपमा सर्वाधिक  ९१५ वटा अर्धसतक बनाउने खेलाडी पनि सचिन नै हुन्। यसदेखि वाहेक पनि विश्व क्रिकेटमा थुप्रै कीर्तिमान सचिनको नाममा छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।