यूएईमा भइरहेको टी १० क्रिकेटमा नेपालका युवा लेगस्पिनर सन्दीप लामिछाने आवद्ध कर्नाटका टसकर्सले पहिलो जित हात पारेको छ । कर्नाटका टसकर्स १९ रनले विजयी भएको हो । कर्नाटकाले दिएको १११ रनको लक्ष्य पछयाएको दिल्ली बुल्सले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै ९१ रन मात्रै जोड्न सक्यो । एन्जोलो म्याथ्यूजले ३१ तथा इयोन मोर्गानले २१ रन बनाए पनि हार टार्न सकेनन् ।

कर्नाटका टसकर्सबाट खेलिरहेका सन्दीप टी १० को पहिलो खेलमै टिममा परेका थिए । दिल्ली बुल्सविरुद्ध उनले आफ्नो पहिलो ओभरमै विकेट लिँदै सनसनी मच्चाए । १११ रनको लक्ष्य पछ्याएको दिल्लीका मोहम्मद उस्मानलाई आउट गरेका हुन् । उस्मान ८ रन बनाए आउट भए । सन्दीपले व्यक्तिगत पहिलो विकेट लिए पनि टिमका लागि भने तेस्रो सफलता दिलाए ।

दोस्रो ओभरमा भने सन्दी महँगो सावित भए । टी १० मा एक खेलाडीले २ ओभर मात्रै बलिङ गर्ने नियम अनुसार उनले आफ्नो स्पेलमा १९ रन खर्चिएर एक विकेट हात पारे ।  टस हारेर पहिला ब्याटिङ गरेको सन्दीप आवद्ध टिम कर्नाटकाले निर्धारित १० ओभरको खेलमा ४ विकेट गुमाएर ११० रन बनाएको थियो । कर्नाटकाका लागि उपुल थरंगाले ४८ रन बनाउँदा शफीकुल्ला शफीकले ३४ रन बनाए ।दिल्लीका लागि रवि रामपौलले दुई तथा  डेभिड वेली र दुशमन्था चमिराले एक एक विकेट लिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।