मकवानपुर,बजेट अधिवेशन सकिएर स्थगित भएको प्रदेश–३ प्रदेशसभाको अर्को अधिवेशन दुई महिना बितिसक्दा पनि आह्वान हुन सकेको छैन । भदौ २५ गते बजेट अधिवेशन सकिएपछि प्रदेशसभा बैठक स्थगित भएको थियो । बिजनेस अभावमा लामो समय बस्न नसकेको बैठक प्रदेशको स्थायी राजधानी र नामकरणको विषयले अझ ढिलाइ हुने देखिएको छ ।

‘प्रदेशसभा बैठक आह्वानका लागि मन्त्रिपरिषद् बैठक बस्नुपर्छ,’ आन्तरिक मामिलामन्त्री शालिकराम जम्मकट्टेलले भने, ‘मुख्यमन्त्री हेटौंडामा हुनुहुन्न । मन्त्रिपरिषद् बैठक नबसी अधिवेशन आह्वान हुँदैन ।’ प्रदेश सरकारअन्तर्गतका मन्त्रालयले अहिले धमाधम ऐन, कानुन निर्माण गरिरहेको र त्यसले पूर्णता पाएपछि मात्र प्रदेशसभा बोलाउने सम्भावना रहेको उनको भनाइ छ । मंसिर १४ गते हुने उपनिर्वाचनको नतिजा सार्वजनिक नभएसम्म सदन सञ्चालन हुने सम्भावना नरहेको प्रदेशसभा सदस्यहरू बताउँछन् । प्रदेश ३ अन्तर्गत प्रदेशसभाका लागि भक्तपुर–१ ‘क’ मा निर्वाचन हुँदै छ ।

हालै मात्रै नयाँ प्रदेश प्रमुख नियुक्त भएर आएका विष्णु प्रसाईं तत्काल बिजनेस नभएको र प्रदेशसभाको बैठक आह्वान नहुने देखिएपछि गृहजिल्ला झापा फर्किइसकेका छन् ।

बिजनेस शून्य

बजेट पारित भएर भदौ २५ गते वर्षे अधिवेशन सकिएको थियो । उक्त अधिवेशनले केही विधेयक पनि पारित गरिसकेको छ । तर, अबको अधिवेशनका लागि सरकारसँग केही पनि बिजनेस छैन । प्रदेशसभामा कुनै पनि विधेयक दर्ता भएको छैन । यसर्थ पनि सरकारले तत्काल प्रदेशसभाको बैठक आह्वान गर्न सक्ने सम्भावना छैन । ‘निजामति सेवासम्बन्धी विधेयक र प्रदेश प्रहरीसम्बन्धी कानुनको तयारी सुरु गरेका छौं,’ मन्त्री जम्मकट्टेलले भने, ‘प्रदेशले पहिचान गरेको अन्य कानुन निर्माणको तयारी भइरहेको छ । तर तत्काल प्रदेशसभामा पेस गर्ने विधेयक हामीसँग छैन ।’ विधेयकहरू पारित भइसकेकाले प्रदेशका समितिहरूको बैठक पनि बस्न सकेको छैन ।

राजधानी टुंग्याउन आन्तरिक कसरत

राजधानीको विषय टुंगो नलगाई प्रदेशसभा आह्वान हुने अवस्था देखिँदैन । सरकारलाई आफ्नै दलको सांसदहरूको दबाब बढिरहेको छ । पछिल्लो समय मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न सार्वजनिक कार्यक्रममा १५ दिनभित्रमा टुंगो लगाउने प्रतिबद्धता जनाए पनि प्रदेशसभाको बैठक अनिश्चित बन्दा यो विषय लम्बिइरहेको छ । पार्टीको आन्तरिक बैठकमा सदनमा सरकारको बचाउ गर्न निर्देशन दिइए पनि राजधानीको विषयमा सत्तापक्षबाट सरकारलाई दबाब बढेको छ । यसका लागि सरकार यतिबेला राजधानीको विषय टुंग्याउन आन्तरिक कसरतमा जुटेको छ । ‘राजधानीको विषय प्रदेशको अधिकार क्षेत्र भए पनि यसको रणनीतिक महत्व केन्द्रीय राजनीतिमा पनि जोडिएको छ,’ नेकपाका मुख्य सचेतक रामेश्वर फुँयालले केहीअघि भनेका थिए, ‘केन्द्रमा यो विषयमा कुराकानी भइरहेको छ । हामी आफैंले सहमतिमा अघि बढ्न खोजेकोले केन्द्रबाटै मिलाउने कोसिस भइरहेको छ ।’

राजधानी टुंगो लगाउने आवश्यक स्पष्ट दुई तिहाइ मत सत्तापक्षसँग छ । तर, सहमति नजुट्दा राजधानी टुंगो लगाउने अपेक्षा केन्द्रमा नै निर्भर छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार आन्तरिक विवादमा फसेको कारण सदन सञ्चालन गर्न नसकेको आरोप लगाएको छ । ‘हिउँदे अधिवेशन आह्वान गर्न सरकार डराएको छ । मुख्यगरी सरकारले राजधानीको विषय ल्याउन सकेको छैन,’ कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भने, ‘आफ्नै दलभित्र सहमति नभएको खण्डमा बोलाउने छाँट देखिन्न ।’ आजको कान्तिपुर दैनिकमा सुवास विडारीले लेखेको समाचार हामिले साभार गरेका हौं ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।