हेटौंडा , ३० कार्तिक, अमेरिकी इलेक्ट्रोनिक डाईभर्सीटी भिसा (इडिभी) भर्ने म्याद सकिएसँगै नयाँ राहदानी बनाउनेको संख्यामा गिरावट आएको छ । यस वर्षदेखि डिभीमा आवेदन गर्न भिसा नम्बर अनिवार्य गरिएपछि जिल्ला प्रशासन कार्यालयमा भिड बढेको थियो ।

विदेशमा घुम्न र कार्यक्रमहरुमा सहभागिता जनाउन जाँदा, बैदेशिक रोजगारी र अध्ययनका लागि राहदानी आवश्यक हुन्छ । तर, यस पटक डीभी भर्दा समेत राहदानी अनिवार्य भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा भीड बढेको थियो । अन्य प्रयोजनका लागि भन्दा पनि यो अवधिमा डीभी भर्नकै लागि राहदानी बनाउनेको घुईँचो देख्न सकिन्थ्यो । डिभि भर्ने समयमा प्रतिदिन झण्डै एकसय थान नयाँ राहदानीका लागि आवेदन परिरहेकोमा अहिले सरदर २० मा झरेको जिल्ला प्रशासन कार्यालय मकवानपुले जनाएको छ । सामान्य अवस्थामा दैनिक पाँचदेखी १५ को हाराहारीमा नयाँ राहदानीको निवेदन कार्यालयमा पर्ने गरेको थियो । असोज १५ गते खुलेको ईडीभी १९ कात्तिकमा बन्द भएको हो । ईडीभी खुलेको पहिलो दिन असोज १५ गते ३ जनाले राहदानीको लागी आवेदन भरेकोमा अन्तिम सयमसम्म पुग्दा दिनको एकसय जनासम्मले राहदानीको लागी निवेदन दिएका थिए ।

कार्यालयका नायव सुब्बा बिनोद अर्यालका अनुसार चालु आर्थिक वर्षको चार महिनामा सात हजार चारसय ४८ जनाले राहदानी बनाएका छन् । जसमा एकहजार सात सय २८ जनाले एक्सप्रेस सेवा र पाँचहजार सातसय २० जनाले साधारणतर्फबाट राहदानी लिएका छन् । अर्यालको अनुसार चालु आवको साउन महिनामा तीनसय पचास जनाले एक्सप्रेस र पाँचसय ४९ जनाले साधारण सेवामार्फत राहदानी लिएका थिए । त्यस्तैगरि भदौमा तीनसय ५१ जनाले एक्सप्रेस र चारसय ९० जनाले साधारण , असोजमा चारसय जनाले एक्सप्रेस र चारसय १ जनाले साधारण र कार्तिक महिनाको हालसम्म पाँचसय ४७ जनाले एक्सप्रेस र दुईसय २४ जनाले साधारण सेवामार्फत राहदानी लिएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।