हेटौंडा , २९ कार्तिक – नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्न संघीय सरकारले शुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट मकवानपुरमा खर्च हुन नसकेपछि फिर्ता भएको छ ।

न्युनतम रोजगारीबाट बञ्चित हनु नपरोस् भन्ने उद्वेश्यले संघीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत रोजगारीको अवसर प्रदान गर्ने अवसर दिएको थियो । गत आर्थिक वर्ष २०७५/०७६ को शुरुवातबाट नै कार्यक्रम शुरु गर्ने घोषणा गरेको सरकारले समयमा बजेट र कर्मचारी नपठाउदा मकवानपुरका स्थानीय तहले सो बजेटको सदुपयोग गर्न नसकेका हुन् । फलस्वरुप जिल्लामा हजारौले बेरोजगारीको फाराम भर्दा पनि रोजगार कार्यक्रमको लागी आएको बजेट फ्रिज हुन पुग्यो । सरकारले गत आवको नीति तथा कार्यक्रममा निकै महत्व दिएको प्रधानमन्त्री रोजगार कार्यक्रम साउन महिनाबाट तथ्यांक संकलन गरि सोहि वर्षको फागुन १ गतेबाट लागु गर्ने घोषणा गरेको थियो ।

 

घोषणा अनुरुप फागुन १ गते नै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रमको उद्घाटन पनि गरे तर घोषणा अनुरुप समयमा रकम पठाउन भने सकेन । सरकारले गत आवको अन्तिम समय अर्थात जेठ महिनाको अन्यतिर मात्रै सो कार्यक्रमको लागी बजेट पठाएपछि जिल्लाका स्थानीय तहहरुले गत आवको अन्तिम समयमा हतार हतारमा बजेट सक्नैको लागी केहि आधाउधी मात्रै काम गरेको स्वयम कर्मचारीहरुले स्विकार गरेका छन् ।

हेटौंडा उपमहानगरपालिकामा गत वर्ष करिव १२ हजार दुईसय जनाले आफुलाई बेरोजार साबित गर्दै सो कार्यक्रमको फाराम भरेका थिए । तर फाराम भरेकामध्येबाट दुईसय ३३ जनाले मात्रै गत आवमा प्रधानमन्त्री रोजगार अन्तर्गत लाभान्वित हुने मौका पाएका थिए । उपमहानगरपालिकाका रोजगार संयोजक बिजन श्रेष्ठको अनुसार संघीय सरकारले सो कार्यक्रलमको लागी जेठको अन्तिमतिर एक करोड रुपैयाँ बजेट पठाएको थियो । तर आर्थिक मसान्त सकिनै लाग्दा आएको बजेटलाई उपमहानगरपालिकाले हतार हतार खर्च गर्दा पनि १९ लाख भन्दा धेरै खर्च गर्न सकेन । बाँकी ८१ लाख रुपैयाँ बजेट फ्रिज भएर फर्केको श्रेष्ठले बताए ।

मकवानपुरकै विकट गाउँपालिका राक्सिराङ् गाउँपालिकामा दुईहजार पाँचसय १२ जनाले आफुलाई बेरोजगार भन्दै फाराम भरेका थिए । उनीहरुलाई रोजगार दिनको लागी सरकारले गाउँपालिकालाई १९ लाख रुपैयाँ बजेट पनि निकासा गरेको थियो । तर आर्थिक मसान्तको अन्तिम तिर आएको बजेटलाई खर्च गर्न नसक्दा बेरोजगारले रोजगार पाउने रकम फिर्ता गर्नु परेको गाउँपालिकाका रोजगार संयोजक गोबिन्द सुनुवारले बताए ।

वर्षभरी न्युनतम रोजगारी पनि नपाएर निराश भएर बसेका बेरोजगारहरुले रोजगारी पाउने आशमा फाराम भरेपनि उनीहरुको लागी आएको रकम खर्च हुन नसक्दा निराश हुनु परेको छ । चालु आव ०७६/०७७ को असोज मसान्त भईसक्दा पनि सरकारले यो वर्षको लागी हालसम्म बजेट पठाएको छैन । जसकारण यस वर्ष पनि गत वर्षको जस्तै स्थिति हुन सक्ने बेरोजगार फाराम भरेकाहरु बताउँछन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।