हेटौँडा, २८ कार्तिक- कुनै विवाद नआए मदन भण्डारी लोकमार्ग लक्षित समयमै निर्माण सम्पन्न हुने भएको छ। लोकमार्गको मकवानपुर खण्डतर्फ ६० प्रतिसत काम सम्पन्न भइसकेको छ ।

आयोजनाको पूर्वतर्फ ३५ वटा र पश्चिमतर्फ २० गरी ५५ वटा पुलको निर्माण कार्य पूरा भइसकेको छ। धरान-चतरा-सिन्धुली-हेटौँडा मदनभण्डारी लोकमार्गको पूर्वी आयोजना र पश्चिम आयोजनाको कार्यालय स्थापना गरेर द्रुत गतिमा काम अगाडि बढाइएको छ। आयोजनामा कुल ७४ वटा पुल निर्माण गर्नुपर्नेछ। राजमार्गको पूर्वी आयोजनामा धरानदेखि सिन्धुलीको भीमानसम्म १३४ किलोमिटर सडक निर्माण हुँदैछ। पहिलो चरणको ४५ किलोमिटर सडक कालोपत्रे भइसकेको छ।

कुल ४३ पुलमध्ये ३५ सम्पन्न भएको छ भने ८ वटा पुलहरूको सुपरस्ट्रक्चर गर्न बाँकी छ । सोचेको हिसाबले काम भएमा अबको १० महिनामा ९० प्रतिशत काम सकिने छ। दशैं, तिहार र छठ पर्वको अवसरमा कामको गति अलि कम भएता पनि अब भने द्रुत गतिमा हुने छ।

मदन भण्डारी लोकमार्गको पूर्वी आयोजनाका लागि झण्डै २ अर्ब बजेट विनियोजन गरिए पनि उक्त रकमले पनि काम पूरा हुन नसकिने अवस्था आउन सक्ने छ । सडक तर्फको ६० प्रतिशत काम सम्पन्न आयोजनाको पश्चिम बेल्टतर्फ सिन्धुलीको भीमानदेखि हेटौँडाको चौघडासम्म कुल ११५ किलोमिटर सडकको काम भइरहेको छ। जसमध्ये सडकतर्फ ६० प्रतिशत काम सकिएको छ ।

अहिले भइरहेको कार्य प्रगतिमा ४५ किलोमिटर सडक पहिले पत्रमा कालोपत्रे भइसकेको र कुल ३३ पुल निर्माण गर्नुपर्नेमा २० पुल निर्माण सम्पन्न, ११ पुलको जग निर्माण र २ पुल भने मुआब्जाको विवादका कारण अघि बढ्न सकेको छैन। सिन्धुलीको धुरा बजार र कमलामाई नगरको अठूला खोलामा बन्ने पुलमा विवादका कारण कार्य हुन नसकेको तर अब छिट्टै त्यो समाधान हुने भएको छ । ३० मिटर चौडा रहेको सडकको पहिलो तह ११ मिटर र दोस्रो तह ७ मिटरले कालोपत्रे गरिने भएको छ। दुवै बेल्टमा सडक, नाला, पुल, स्ल्याब, कल्भर्ट लगायतको काम पनि तीव्र भइरहेको आयोजनाले जनाएको छ।

अबको १० महिना अर्थात २०७७ भदौ महिनामा सम्झौता अवधि सकिन्छ। अहिलेको गतिमा काम गर्न सकेमा अन्त्यसम्म ९५ प्रतिशत काम सकिने छ । विवाद र मुद्दा नआई कार्य गर्न रोकिएन भने काम तीव्र गतिले अघि बढ्ने छ। अहिले पश्चिम आयोजनाका लागि मात्र १ अर्ब ८१ करोड बजेट छुट्टाई काम भइरहेको भएपनि केही रकम अपुग हुनसक्ने अनुमान गरिएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।